मुक्त कमैयाका समस्या समाधानमा तीन तहका सरकार एकजुट हुनुपर्छ : मुख्यमन्त्री शाह

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन्। मुक्त कमैया महिला विकास मञ्चले आज धनगढीमा आयोजना गरेको २५औं कमैया मुक्ति दिवस कार्यक्रममा मुख्यमन्त्री शाहले भने, ‘मुक्तिको घोषणा भए पनि मुक्त कमैयाका धेरै समस्या छन्। यसको समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार एकजुट भएर अगाडि बढ्न जरुरी छ।’
प्रदेश सरकारले बनाएको मुक्त कमैया, हलिया र कम्लरी पुनःस्थापना कार्यविधि पूर्ण रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहको भनाइ थियो। उनले कार्यविधि कार्यान्वयनको पाटो निरन्तर अगाडि बढेको उल्लेख गर्दै कार्यविधि कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। मुक्त कमैया, हलिया र कम्लरीको शिक्षा, स्वास्थ्य, रोजगारका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले बताए। थारू, रानाथारू समुदायका विभिन्न संस्कृति, संस्कार, रीतिरिवाज जगेर्ना गर्न प्रदेश सरकार तत्पर रहेको उनको भनाइ थियो।
तत्कालीन सरकारले २०५७ साउन २ गते बँधुवा मजदुरका रूपमा जमिनदारको घरमा काम गर्दै आएका कमैयालाई मुक्त भएको घोषणा गरेको थियो। कमैयामुक्ति घोषणाको लामो समय हुँदा पनि अझै केही मुक्त कमैयाको पुनःस्थापना हुन सकेको छैन। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका गरी अझै दुई हजार ३७५ मुक्त कमैयाको पुनःस्थापना हुन नसकेको मुक्त कमैया महिला विकास मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरीले जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २५ हजार १९५ मुक्त कमैयाको मात्रै पुनःस्थापना भएको छ।
तपाईको प्रतिक्रिया