कामधेनु गौशालालाई डेढ लाख आर्थिक सहयोग

अछाम । कामधेनु गौशालालाई डेढ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । आर्थिक समस्यामा रहेको साँफेबगर नगरपालिका– १० घुघुरकोटको विशाल बजारमा रहेको कामधेनु गौशालालाई आर्थिक सहयोग गरिएको हो । मदन बाबा भक्ति केन्द्रमा आबद्ध रहेका भक्तजनहरुले गौशालालाई आर्थिक सहयोग गरेका हुन् ।
असार ३० गते देखि साउन २ गतेसम्म आयोजना भएको १४ औं साधना शिविरमा सहभागी भएका भक्तजनहरुले एक लाख ६२ हजारदुई सय ११ रुपियाँ आर्थिक सहयोग गरेको कामधेनु गौशालाका अध्यक्ष मोहनबहादुर कुँवरले जानकारी दिए ।
उक्त गौशालालाई सबैभन्दा वढी मदन बाबा भक्ति केन्द्र बाँकेका उपाध्यक्ष राधा शाहले २१ हजार एक सय ११ रुपियाँ सहयोग गर्नुभएको छ । परम उद्धारकर्ता सङ्कट मोचन स्वरुप सद्गुरु मदन बाबाको विशेष पहलमा उक्त रकम सङ्कलन भएको हो । यस्तै साँफेबगर नगरपालिकाका निर्वतमान नगर प्रमुख कुलबहादुर कुँवरले गौशालालाई २२ हजार एक रुपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । उनले उक्त गौशालालाई सञ्चालनका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।
परम उद्धारकर्ता सङ्कट मोचनस्वरुप सदगुरु मदन बाबाले गौमाता धर्तीकी निर्माता भएकाले सबैले सेवा गर्नुपर्नेमा जोड दिए । गौमाताको संरक्षण पालनपोषण गरेमा विद्यमान रोग, दोष, विध्न बाधाबाट मुक्ति प्राप्त गर्न सकिने उनको भनाइ छ । आगामी दिनमा पनि कामधेनु गौशालालाई सहयोग हुने जानकारी दिए ।
कामधेनु गौशालाका अध्यक्ष कुँवरले भक्तजनहरुबाट भएको सहयोगले गौमातालाई खानेकुरादेखि हेरालाको लागि खर्चको जोहो भएको जानकारी दिए । उनले सबै सहयोगी मनलाई सहयोग गर्न आग्रह गरे ।
गौशालामा संरक्षण गरिएका गाईहरुलाई उचित वासस्थानको व्यवस्थापन हुन सकेको छैन । गौशाला व्यवस्थित रुपमा सञ्चालनका निम्ति प्रयासहरु जारी छ । स्थानीय ६४ वर्षीया डम्बरबहादुर महताले सञ्चालन गरेको गौसंरक्षण अभियानका अहिले थुप्रै व्यक्तिहरु जोडिएका छन् ।
अछामी नौमुठे गाई संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले साँफेबगर नगरपालिका– १० घुघुरकोटमा कामधेनु गौशाला तथा नौमुठे गाई प्रवर्धन संरक्षण केन्द्रको स्थापना गरिएको छ । हाल उक्त गौशालामा १ साँढे, ३ वटा बाच्छा र ११ वटा गाई गरेर १५ वटा गाई रहेको समितिका महासचिव ध्रुवराज भण्डारीले जानकारी दिए । महासचिव भण्डारीका अनुसार यो गाईको दूध निकै पोसिलो हुन्छ र यो गाईलाई दिइने घाँसपातको तुलनामा यसले दिने दूध धेरै हुन्छ ।
भण्डारीले भने, ‘‘यो गाईलाई राम्रोसँग स्याहारसुसार गर्न सकेमा उत्पादकत्व अझ बढ्न सक्छ । गाईको दूध निकै पोसिलो हुन्छ । एक सय ५० किलो तौल भएको यो गाईले दुईदेखि तीन मानासम्म दूध दिनु भनेको हजार किलो तौल हुने उन्नत जातको गाईले दिने दूधभन्दा तुलनात्मक रुपले निकै बढी हो ।’’
यो गाई भीरपाखामा बाख्रा जसरी सहजै चर्न सक्ने र थोरै लागतमा पाल्न सकिने उनले बताए । यो गाईमा रोगसँग लड्न सक्ने क्षमता बढी हुन्छ । आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक महत्त्वले परिपूर्ण भएको मानिन्छ । यस प्रजातिको गाईको दूध तथा गहुँतलाई औषधिजन्य रुपमा पनि लिइन्छ ।
तपाईको प्रतिक्रिया