किसानका साथी खेतमा रमाउने चरा

धनगढी । रोपाइँपछि हरियालीमा परिणत भएको खेतमा देखिने चरा किसानका सहयोगी बनेका छन् । धानबालीलाई हानि पुर्याउने किराफट्याङ्ग्रा खाएर विभिन्न प्रजातिका चराले किसानलाई सहयोग गरिरहेका हुन्छन् । कैलालीमा रोपाइँपछि यतिबेला खेतमा हरियाली छाएको छ । त्यसमा थरी थरीका बकुल्लादेखि गरुडलगायत विभिन्न प्रजातिका चरा रमाइरहेका छन् ।
“चराहरू खेतमा आउनु किसानका लागि ठुलो फाइदा हो,” धनगढीका रमेश धामीले भने, “यिनीहरूले किराफट्याङ्ग्रा खाएर सित्तैमा किसानलाई सहयोग गरिरहेका छन् ।” उनले विषादी छर्केर किरा मार्नुभन्दा पनि चरा जोगाए प्राकृतिक रूपमै किरा नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कृषि बालीमा विषादी न छर्के आफ्नै स्वास्थ्यका लागि पनि फाइदाजनक हुने उनको बुझाइ छ ।
धेरै जसो चराको आहारा किराफट्याङ्ग्रा हुन् । यिनै किराफट्याङ्ग्राले कृषि बालीमा नोक्सान गरेर किसानलाई हैरान बनाउने गर्दछन् । किराफट्याङ्ग्रा लागेपछि किसानले महँगोमा समेत खरिद गरेर कृषि बालीमा विषादी छर्किने गरेका छन् । कैलारी गाउँपालिका–७ का कृषक महावीर चौधरीले धानमा उम्रेको घाँस र लागेको किरा नियन्त्रणका लागि विषादी छर्किने गरेको जानकारी दिए ।
चराविद् हिरूलाल डङ्गौराले चरा किसानको असल साथी रहेको उल्लेख गरे। उनले भने, “धेरै जसो चरा किसानसँगै खेतमा हुन्छन् । त्यस्ता चराले खेतीपातीमा असर पुर्याउने किराफट्याङ्ग्रा नियन्त्रण गरेर किसानको साथीको भूमिका निर्वाह गरिरहेका छन् ।”
बकुल्ला प्रजातिमध्ये पशु बकुल्लाले सबैभन्दा बढी किरा खाने गरेको जनाइएको छ । यसै गरी गरुड प्रजातिका घोङ्घिफोर गरुडले किरा र सारसले सर्प, बिच्छी खाएर सहयोग गर्ने गरेको जनाइएको छ । मैना, चिबे प्रजातिका चराले बढी जसो किरा फट्याङ्ग्रा खाएर सहयोग पुर्याउने गरेको डङ्गौराको भनाइ छ ।
उनले खेतमा पुगेका चरालाई मार्न, धपाउन नहुने बताए । “चरा खेतमा पुगेपछि अप्रत्यक्ष रूपमा किसानलाई नै फाइदा भइरहेको छ,” चराविद् डङ्गौरा भन्नुहुन्छ, “तर यो कुरा अझै धेरै किसानले बुझेका छैनन् । खेतमा चरा देख्नेबित्तिकै विषादी हालेर वा गुलेलीले मार्न पछि पर्दैनन् ।”
तपाईको प्रतिक्रिया