कञ्चनपुरमा बाघ समात्न हात्तीसहितको टोली परिचालन
.2025-07-22-05-25-38.jpeg)
कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब १०० मिटर नजिकैको उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष नारदसिंह अर्यालले जानकारी दिए ।
उनले आज बिहान करिब ७ बजेको समयमा उखुबारीमा बाघ देखिएको बताए । 'बिहानै उखुबारीमा देखिएको बाघ नियन्त्रणमा आउन सकेको छैन, स्थानीय त्रसित छन्', उनले भने, 'अहिले निकुञ्जबाट हात्तीसहितको टोली आउँदै छ ।'
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले उक्त उखुबारीमा चितुवा हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको बताए । 'हामीले कार्यालयबाट प्राविधिकसहित दुईवटा हात्तीसमेत उक्त क्षेत्रमा पठाएका छौँ', उनले भने, 'बाघभन्दा पनि हामीले चितुवा भएको आशङ्का गरेका छौँ, नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।' उनले निकुञ्ज कार्यालय र नेपाली सेनाको टोली उक्त क्षेत्रमा खटिएको बताए ।
तपाईको प्रतिक्रिया