सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता : अर्थमन्त्री

मंगलबार श्रावण ७, २०८२/ Tuesday 07-22-25
Paschim Today

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता भएको बताएका छन् ।

मंगलबार एसियाली विकास बैंक (एडीबी) को ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी २०२५–२०२९’ सार्वजनिक कार्यक्रममा अर्थमन्त्रीले एडीबीको यस रणनीतिले नेपालको विकासको आवश्यकता सम्बोधन गर्ने उनले बताए

नेपालको १६औं योजनासँग तालमेल गरिएको भन्दै यसले आर्थिक रूपान्तरणमा भूमिका खेल्ने उनले बताए । यो रणनीतिले निजी क्षेत्रको विकास, कृषिको आधुनिकीरणमा ध्यान दिएको उनको भनाइ छ ।

रणनीति कार्यान्वयनले गुणस्तरीय रोजगारी सिर्जना गर्ने उनको विश्वास छ । जलवायु परिवर्तनबाट नेपाल अत्यधिक प्रभावित मुलुक भएको भन्दै उनले यी क्षेत्रमा प्राप्त हुने सहयोगले दिगो भविष्य निर्माणमा सहयोग गर्ने समेत बताए ।

नवीकरणीय ऊर्जालाई सरकारले प्राथमिकता दिएको भन्दै सरकारका तर्फबाट सुशासन र संस्थागत सुदृढीकरणमा काम गरिने उनले बताए । भ्रष्टाचार नियन्त्रणमा ध्यान दिने प्रतिबद्धता उनले व्यक्त गरे ।

सरकारले एडीबी र अन्य विकास साझेदारसँग मिलेर काम गर्ने भन्दै लगानी भित्र्याउने काममा रहेका अवरोध हटाइने बताए । प्रक्रिया सहजीकरण गरिने, पारदर्शिता कायम गरिने भन्दै उनले समग्रमा यस रणनीतिले नेपालको विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताए ।