एलन मस्कले ल्याए बालबालिकाको एआई बेबी ग्रोक

मंगलबार श्रावण ७, २०८२/ Tuesday 07-22-25
Paschim Today

एजेन्सी । एनी, रुडी तथा भ्यालेन्टाइनजस्ता आफ्ना बोल्ड र विवादास्पद एआई मित्रहरु लञ्च गरेर चर्चामा आएका एलन मस्कले एउटा नितान्त फरक दिशामा कदम बढाउँदैछन् । आफूले अब बालबालिकाका लागि सुरक्षित तथा उपयुक्त एआई च्याटबट लञ्च गर्ने मस्कले घोषणा गरेका छन्। उक्त बाल च्याटबटको नाम बेबी ग्रोक हुनेछ।

एआई च्याटबट ग्रोकका विद्यमान एआई पात्रहरुलाई लिएर सोसल मिडियामा चर्को आलोचना भईरहेको बेला मस्कको यस्तो घोषणा सार्वजनिक भएको हो ।

यद्यपि मस्कले बेबी ग्रोकका विषयमा अहिले धेरै जानकारी शेयर गरेका छैनन् । तथापि के कुरा प्रष्ट छ भने उनको बेबी ग्रोक बालबालिका मैत्री एआई च्याटबट संस्करण हुनेछ र यसमा कुनै अश्लील भाषा तथा आपत्तीजनक कुराहरुको सम्भावना रहनेछैन ।

यो कदमलाई एक प्रकारले मस्कको ड्यामेज कन्ट्रोलको रुपमा लिईइएको छ। किनकि ग्रोकको विद्यमान आम संस्करणले अश्लीलतायुक्त संवादका कारण विवाद सिर्जना गरेको छ।

ग्रोकका विद्यमान एआई पात्रहरु : लज्जा र विवादको कहानी

एनी (Ani) : यो एक एनिमे शैलीको स्त्रीलिंगी च्याटबट हो जसले गोथिक कर्सेन लगाउँछ अनि कुराकानीका क्रममा निकै अन्तरंग तथा अश्लील संवादमा प्रस्तुत हुन्छ। रिपोर्ट अनुसार प्रयोगकर्ताले एनीसँग धेरै कुराकानी गर्न थालेसँगै यो भर्चुअल भित्री वस्त जस्ता रुपरेखामा प्रकट हुन थाल्छ ।

रुडी (Rudi) : एक रेड पाण्डाको रुपमा बनाईएको रुडीको विशेषता दुई भागमा विभाजित छ। एकातर्फ यसले हाँसोठट्टा गर्दछ र प्रेमिल छ भने अर्कोतर्फ गालीगलौज गर्ने तथा रिसाहा खालको छ।

भ्यालेन्टाइन (Valentine) : यो एआई पात्र क्रिस्चियन ग्रे तथा एडवार्ड कुलन जस्ता काल्पनिक तर विवादास्पद पुरुष पात्रहरुबाट प्रेरित छ। यसले भावनात्मक नियन्त्रण तथा विषाक्त सम्बन्धलाई ग्लामराइज्ड गर्दछ।

विज्ञहरुका अनुसार ग्रोकका यी सबै पात्रहरुले युवा तथा बालबालिकाहरुलाई गलत सन्देश दिने जोखिम छ। जसबाट मनोरन्जक तथा जिम्मेवार एआई डिजाइनका सीमाहरु धूमील बन्दछन् ।