भारतसँग जोडिएका दार्चुलाका सीमा नाका बन्द

दार्चुला।भारतसँग जोडिएका दार्चुलाका सीमा नाका बन्द गरिएका छन् । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर सीमा नाका बन्द गरिएका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले बताए ।सोमबार बेलुका ७ बजेदेखि बन्द भएका नाका साउन ८ गते निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्मका लागि बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताए ।
भारतीय पक्षको आग्रहमा सीमा नाका बन्द गरिएका हुन् । निर्वाचनको समयमा दुवै देशका सीमा नाका ७२ घण्टा बन्द गर्ने प्रचलन रही आएको छ । भारतको उत्तराखण्ड प्रदेशमा यही साउन ८ र १२ गते दुई चरणमा पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको निर्वाचन हुँदैछ । यस्तै भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका पनि साउन ९ गतेदेखि ७२ घण्टाका लागि बन्द रहने स्थानीय प्रशासनले बताए। भारतमा हुने स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर सीमा नाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
तपाईको प्रतिक्रिया