बर्षासँगै आएको हावाहुरीले बैतडीमा मकैबालीमा क्षति

शनिबार श्रावण ११, २०८२/ Saturday 07-26-25
Paschim Today

बैतडी । बैतडीमा शुक्रबार दिउँसो बर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति पुर्याएको छ । 

दिउँसो २ बजेतिर बर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा मकैबालीमा क्षति पुर्याएको किसानहरुले बताएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पुगेको किसानहरुको भनाइ छ ।

हावाहुरीले मकैबाली ढलेर नष्ट भएको सुर्नया-४ की मञ्जु भट्टले बताइन् । बर्षासँगै आएको हावाहुरीले मकैबाली ढलेर नष्ट भएको दशरथचन्द नगरपालिका-१ की माया भट्टले बताइन् । घोगा लागेको मकै हावाहुरीले ढलाएपछि किसानहरु चिन्तित बनेका छन् । जंगली जनावरबाट मकैबाली जोगाउन धौ-धौ परिरहेका बेला बर्षा र हावाहुरीले थप क्षति पुर्याएको किसानहरुले बताएका छन् । 

यसअघि पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा हावाहुरीले मकैबालीमा क्षति पुर्याएको थियो । मुख्य खाद्यबालीको रुपमा रहेको मकैबालीमा क्षति भएपछि किसानहरुलाई भोकमरी हुने चिन्ताले सताएको छ । बैतडी मकै उत्पादनका हिसाबले राम्रो जिल्ला भएपनि पछिल्ला बर्षहरुमा मकैबाली क्षति हुँदै आएको छ । पकेट क्षेत्रमै मकैबालीमा क्षति पुगेपछि किसानहरुलाई समस्या भएको छ । 

बैतडीमा १२ हजार १ सय हेक्टर जमीनमा मकैखेती गरिँदै आएको भएपनि पछिल्ला बर्षहरुमा मकैखेती गर्ने किसानहरुको संख्या घट्दै गएको छ । विभिन्न कारणले मकैबालीमा क्षति हुन थालेपछि किसानहरुको आकर्षण घट्दै गएको बताइएको छ ।