पदक विजेता खेलाडीलाइ सुदूरपश्चिम कराँते महासङ्घद्धारा सम्मान

शनिबार श्रावण ११, २०८२/ Saturday 07-26-25
Paschim Today

धनगढी। सुदूरपश्चिम कराँते महासङ्घले १५ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कीर्तिमान कायम गर्ने र हालै श्रीलङ्कामा सम्पन्न ९औं दक्षिण एसियाली कराँते प्रतियोगिताका सुदूरपश्चिमका पदक विजेताहरू खेलाडीलाई नगदसहित सम्मान गरेकोछ।
राष्ट्रपति रनिङ सिल्डमा ४०० मिटर दौडमा कीर्तिमान राख्ने खेलाडी संगीता बिकलाई नगद ५ हजार सहित सम्मान गरिएको हो। त्यसैगरी, लगातार १३औं १४औं र १५औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा तेक्वान्दो विधामा प्रथम स्थान हासिल गर्ने दीपा जैसीलाई पनि ५ हजार सहित सम्मान गरियो।

श्रीलङ्कामा जुलाई २ देखि ६ सम्म आयोजना भएको ९औं दक्षिण एसियाली कराँते प्रतियोगितामा स्वर्ण पदक जित्ने मनीषा बोहरालाई २० हजार नगदसहित सम्मान गरिएको हो। उनले लगातार आठौं र नवौं संस्करणमा प्रथम स्थान हासिल गरेकी हुन्। अर्की स्वर्ण पदक विजेता आस्था लुहारलाई १५ हजारसहित सम्मान प्रदान गरियो।सोही प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने सोनिया तिरुवा र कन्चन बोहरालाई पनि सम्मान गरिएको छ। यसैगरी सम्मानित हुने प्रशिक्षकहरूमा वीरेन्द्र बहादुर चन्द र अशोक चन्द छन्। उनीहरूलाई जनही र ५ हजार नगद सहित सम्मान प्रदान गरिएको हो।