कञ्चनपुरको बेलौरीमा विपद् मैत्री संरचना निर्माण

शनिबार श्रावण ११, २०८२/ Saturday 07-26-25
Paschim Today

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा विपदमैत्री संरचना निर्माण गरिएको छ । विपदसम्बन्धी गतिविधि सञ्चालनका लागि पालिकाले छुट्टै विपद् मैत्री संरचना निर्माण गरिएको जनाएको हो ।

पालिकाको विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेका अनुसार नौ लाखको लागतमा स्थानीय आपतकालीन केन्द्र र ६ लाखको लागतमा विपद् गोदाम घर निर्माण गरिएको छ । गोदाम घर निर्माण कार्य अन्तिम चरणमा पुगेको विपद् सम्पर्क व्यक्ति पाण्डेले बताए ।

विपदमा पर्ने प्रभावित परिवारलाई आवश्यक पर्ने राहत सामग्रीहरू विपद् गोदाम घरमा राखिने उनले बताए । आपतकालस्न पूर्व तयारीका लागि सामानहरूलाई सम्बन्धित स्थानमा परिचालन गर्न भवन निर्माण गरिएको उनले बताए ।

पालिकाकामा यसअघि भवन अभावले विपद् सामग्रीहरू व्यवस्थापन र परिचालनमा समस्या रहँदै आएको बताइएको छ । विपद् मैत्री संरचना निर्माण गरिएसँगै स्थानीय आपतकालीन केन्दमा विपद जन्य गतिविधि, बैठक, तालिमलगायतका कार्यक्रम सञ्चालनमा सहजता हुने उनले बताए ।

वैशाख महिनादेखि निर्माण थालिएकोमा असार मसान्त भवन निर्माण सम्पन्न भएको उनले बताए । भवनको छिट्टै उद्घाटन गर्ने कार्यक्रम रहेको पनि उनले बताए ।