साउनभित्रै ड्राइभिङ लाइसेन्स छापेर वितरण गर्छौं : मन्त्री महर्जन

शनिबार श्रावण ११, २०८२/ Saturday 07-26-25
Paschim Today

काठमाडौं। वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले यही साउनभित्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण थालिने बताएका छन् । शनिबार वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय परिसरमा न्युज एजेन्सी नेपालसँग उनले हालै सुरु गरिएको ई–ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीले सकारात्मक प्रभाव पार्न थालेको बताएका हुन् ।

गएको वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वाग्मती ईडीएल प्रणाली तथा अनलाइन बिलबुक सेवा नागरिक एपमार्फत सार्वजनिक गरिएको थियो । उक्त सेवा सुरु भएको तीन महिनामा धेरै सेवाग्राहीले लाभ लिएको मन्त्री महर्जनको भनाइ छ ।

उनले नागरिकले आफ्नो सवारीसाधनसम्बन्धी विवरण अनलाइनमार्फत भरेर यातायात कार्यालयमा ‘भेरिफिकेसन’ गराउन सक्ने बताए । त्यसपछि पटक–पटक कार्यालय धाउनु नपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

“साउनभित्रै हामीले लाइसेन्स प्रिन्ट गरेर वितरण सुरु गर्छौं, यसबाट सेवाग्राहीहरूलाई सिधै फाइदा पुग्नेछ,” उनले भने, “जनताले पटक–पटक यातायात कार्यालय जानुपर्ने बाध्यता हटाउने र बिचौलिया संस्कृतिको अन्त्य गर्ने हाम्रो मुख्य उद्देश्य हो ।”

यो डिजिटल सेवा क्रमशः अरू प्रदेशमा पनि विस्तार हुने मन्त्री महर्जनले बताए । सातै प्रदेशले लाइसेन्स छाप्ने तयारी गरिरहेका छन् । त्यसको सुरुआत वाग्मतीले गर्न लागेको उनले उल्लेख गरे ।