आइसीसी महिला टी-२० विश्वकप छनोटको खेल नेपालमा हुने

बिहीबार श्रावण १६, २०८२/ Thursday 07-31-25
Paschim Today

काठमाडौं : आइसीसी महिला टी-२० विश्वकप छनोटको ग्लोबल छनोटको खेल नेपालमा आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)ले विश्वकप छनोटको खेल नेपालमा हुने तय गरेको हो। 

प्रतियोगिता जुन १२ जनवरी २०२६ देखि २ फेब्रुअरी २०२६ सम्म माथिल्लो र तल्लो मुलपानी क्रिकेट स्टेडियममा हुनेछ। पूर्ण खेल तालिका भने घोषणा हुन बाँकी रहेको छ। यस प्रतियोगितामा १० टोलीहरू प्रतिस्पर्धा गर्नेछन्। 

ग्लोबल छनोटका शिर्ष ४ टिमले २०२६ मा इङ्ल्यान्ड र वेल्समा हुने विश्वकप खेल्नेछन्। यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। 

यस प्रतियोगिताका लागि ५ टोलीले स्थान पक्का गरिसकेका छन्। बंगलादेश र आइरल्याण्ड २०२४ विश्वकपमा सहभागी हुने टिमका आधारमा छनोट भएका हुन्। घरेलु टिम नेपाल र थाइल्यान्डले एसिया क्षेत्र छनोट पार गरेर ग्लोबल क्वालिफार्यसमा स्थान बनाएका हुन्। संयुक्त राज्य अमेरिका  क्षेत्रबाट छनोट भएको हो। अब  ५ टिमको टुंगो लाग्न बाँकी रहेको छ। 

दुई–दुई टोलीहरू अफ्रिका र युरोप क्षेत्रको क्वालिफायरबाट, एक टोली पूर्वी एशिया–प्यासिफिक क्षेत्रबाट चयन गरिनेछ। यस प्रतियोगितामा १० टोलीलाई २ समुहमा विभाजन गरेर खेलाइनेछ । शीर्ष छ टोलीहरू सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। अन्त्यमा फाइनल खेल हुँदै विजेता निर्धारण हुनेछ ।

२०२६ मा आयोजना हुने महिला टी-२० विश्वकप मा १२ टोलीहरू सहभागी हुनेछन्।  नेपालले पहिलो पटक ग्लोबल क्वालिफार्यसमा स्थान बनाएको हो। नेपालका घरेलु भूमिमा ग्लोबल क्वालिफार्यस खेल्दै विश्वकप छनोट हुने यो सुनौलो अवसर हो।