बैतडीमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर’ अभियान सुरु

बिहीबार श्रावण १६, २०८२/ Thursday 07-31-25
Paschim Today

 

बैतडी। बैतडीमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु भएको छ । बिहिबारदेखि जिल्ला सदरमुकाम क्षेत्रमा स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि बिहिबार जिल्लाको सदरमुकाम गढी,गोठलापानी क्षेत्रमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, जनप्रतिनिधि,नागरिक समाज तथा स्थानीयको सहयोगमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो ।लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान सुरु भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी बिपिन लेखकले बताए ।

पानीका ड्रम,पानी जम्ने खाडल, पुराना टायर, पानीका बोतल, फुलका गमला, पानी जम्मा हुने ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले सरसफाइ गरिएको खोप सुपरभाइजर निरीक्षक भट्टले बताए ।एडीज जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण फैलिने भएकाले यो रोगबाट बच्ने उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु रहेको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन जयसिंह बडालले बताए ।

डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि लक्षण देखापर्ने गर्दछन् ।डेंगुबाट बच्नका लागि व्यक्तिगत र वातावरणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, पानी जमेको भाँडाकुडा सफा गर्नुपर्ने, धेरैदिन सम्म पानी जमा गरेर नराख्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्ने ल्याब टेक्निसियन जयसिंह बडालले बताए ।