कैलालीमा डिजिटल शिक्षाको मौका, निःशुल्क पढ्न विद्यार्थीहरूको खोजी

शुक्रबार श्रावण १७, २०८२/ Friday 08-01-25
Paschim Today

कैलाली । जिल्ला प्रशासन कार्यालयको मिटिङ हलमा जम्मा भएका धनगढी र गोदावरी नगरपालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले अब एसइईको नतिजा सुधार हुनेमा विश्वास व्यक्त गरे ।

कक्षा १०मा अध्ययन गरिरहेका विद्यार्थीहरूले अनलाइन माध्यमबाट पढ्न पाउने र विद्यार्थीका अभिभावकले मोबाइलबाटै आफ्ना छोराछोरीको प्रगति हेर्न मिल्ने एप बारे जानकारी पाएपछि उनीहरूले पनि आफ्ना विद्यार्थीहरूलाई त्यसबाट अध्ययन गराउने बताएका थिए ।

ई–लर्निङ प्लेटफर्म एम्बिसन गुरु नेपाल प्रालिले ल्याएको ‘एम्बिसन गुरु’ नामक एप जानकारी पाएका प्रधानाध्यापकहरूले प्रमुख जिल्ला अधिकारी गोगन हमालसमक्ष एसइई को तयारीमा रहेका विद्यार्थीहरूलाई ठुलो टेवा पुग्ने बताएका थिए ।

धनगढी मोडकका प्रिन्सिपल लक्ष्मणदत्त भट्टले आफ्ना २ सय विद्यार्थीहरूलाई अनलाइन प्रणालीमार्फत लिने कक्षामा सहभागी गराउने बताएका थिए । प्रविधिको दुनियाँमा प्रविधि भन्दा टाढा विद्यार्थीहरूलाई राख्न नसकिने भन्दै उनले प्रविधि प्रयोग गरेर शिक्षालाई सुधार गर्न आवश्यक रहेको बताएका थिए ।

‘मेरोमा २ सय बढी विद्यार्थी छन् । उनीहरू सबैलाई यही मार्फत पढ्न सुझाव दिन्छु ’ उनले भने ‘अहिलेको पुस्तालाई मोबाइल भन्दा पर राख्न सकिने अवस्था छैन। त्यही मोबाइललाई नै पढाइको एउटा माध्यम बनाउनु उपयुक्त हो ।’

अघिल्लो वर्ष पनि ‘एम्बिसन गुरु’ एपबाट सुदूरपश्चिमका १७ हजार ८७४ जनाले निःशुल्क शिक्षा लिएका थिए । ती मध्ये धनगढीका मात्रै ८९७ जना जोडिएका थिए ।

अघिल्लो पटक ६४ विद्यालय जोडिएकोमा यस वर्ष त्यो भन्दा धेरै विद्यालय मार्फत विद्यार्थीलाई प्रविधिमार्फत निःशुल्क शिक्षा दिने उद्देश्य रहेको गुँसा फाउन्डेसनकी संस्थापक तथा अध्यक्ष याङ्जोम शेर्पाले बताइन् । उनले सरकारकै योजनामा सुरु भएको यो अभियानले नतिजा सुधारमा ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरेकी थिइन् ।

‘अघिल्लो वर्ष हामीले चलाएको यो अभियानले एसइई को नतिजा सुधार भएको पाइएको छ यो वर्ष हामीले अझै धेरै विद्यार्थीलाई निःशुल्क पढाउने लक्ष्य लिएका छौ ’ उनले भनिन्, ‘पढ्न नपाउनु भएका र सिक्न चाहने विद्यार्थीहरूलाई यो निकै ठुलो अवसर हो । ’

शेर्पाले घुन्सा फाउन्डेसनले एम्बिसन गुरुसँग सहकार्य गरेर विद्यार्थीहरूलाई अनलाइनमार्फत निःशुल्क शिक्षा दिन खोजिरहेको र त्यसका लागि विद्यार्थीहरूको खोजी गरिरहेको बताउँदा छलफलमा सहभागी भएका प्रधानाध्यापकहरूले आ–आफ्नो विद्यालयमा आउन आग्रह गरिरहेका थिए ।

‘हाम्रो विद्यालयमा ६१ जना विद्यार्थी छन् । निम्न वर्गीय विद्यार्थीहरूको लागि आफ्नै मोबाइलबाट सबै विषयको ज्ञान लिन पाउने यो प्रविधि निकै राम्रो लाग्यो’ समौजि मावि मजगाउकी विन्दु बलायरले भनिन्, ‘हजुरहरूले हाम्रो विद्यालय अनुगमन गरेर यहाँका विद्यार्थीहरूलाई यो एपमा जोडिदिनुहोला । ’

यसमार्फत अभिभावकले बालबालिका कति समय बसेर पढिरहेका छन्, उनीहरूले कति वटा लाइभ क्लास लिए, कति छुटाए, कुन कुन परीक्षामा सहभागी भए, नबुझेका कुरा शिक्षकलाई सोधे कि सोधेनन् लगायतका कुरा हेर्न सक्नेछन् ।

जिल्ला शिक्षा समन्वय इकाइका प्रतापसिंह धामीले एसइई को नतिजा सुधार गर्न र विद्यार्थीहरूलाई ज्ञान बढाउन एप निकै प्रभावकारी हुने बताएका थिए ।

‘अहिले विद्यार्थीहरूमा मोबाइल चलाउने समस्या बढिरहेका छ । त्यही मोबाइलबाट विद्यार्थीहरूलाई ज्ञानको कुरा सिकाउने यो एप निकै राम्रो छ ’ उनले भने , ‘यसले विद्यार्थीको ज्ञान बढाउनुको साथै एसइई को नतिजा सुधार्न पनि भूमिका खेल्ने छ ।’

एसइई, ११, १२ विज्ञान, व्यवस्थापनका स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयका परीक्षाको तयारी अनलाइनबाट गराउँदै आएको छ । साथै लोक सेवा, शिक्षक सेवा, संस्थानहरू, बैङ्कहरू, सुरक्षा निकायलगायत सरकारी क्षेत्रका लागि तयारी कक्षा सञ्चालन गरिरहेको छ ।

अहिले कैलालीमा कक्षा १० पढ्ने विद्यार्थीहरूलाई यसमा जोड्न खोजिएको छ । नियमित विद्यालय जन नसक्ने र विद्यालय पछि पनि पढ्न चाहने विद्यार्थीहरूको लागि एप निकै महत्त्वपूर्ण र प्रभावकारी हुने कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले जानकारी दिए ।

‘आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले कक्षा पछि कोचिङ पढ्न समस्या हुने गर्छ ती विद्यार्थीहरूको लागि यो निकै प्रभावकारी हुन्छ ’ प्रमुख जिल्ला अधिकारीले भने ‘यहाँबाट विद्यार्थीले गुणस्तर शिक्षा पाउने छन् । परीक्षाको नतिजा सुधार हुने छ ।