भारतमा दुर्लभ रक्त समूह ‘सीआरआईबी’ फेला पर्याे

काठमाडौं । भारतमा दुर्लभ रक्त समूह फेला परेको छ । भारतको बेङ्गलुरु नजिकै एक महिनामा नयाँ रक्त समूह ‘सीआरआईबी’ फेला परेको बीबीसी हिन्दीले जनाएको छ । ‘सीआरआईबी’ मा ‘सी’ ले क्रोमर (सीएच) लाई जनाउँछ, यो रक्त समूहहरूमध्ये एक हो । ‘आई’ को अर्थ भारत हो र ‘बी’ को अर्थ बेङ्गलुरु हो ।
यो रक्त समूह यति दुर्लभ छ कि डाक्टरहरूले ३८ वर्षीया महिलाको मुटुको शल्यक्रियाको क्रममा ‘ट्रान्सफ्युजन’ अर्थात् रगत चढाउन आवश्यक परेमा एक वा दुई बोतल रगत तयार राख्ने सामान्य प्रक्रिया पनि पालना गरेनन् ।
विशेषज्ञहरूले बेङ्गलुरुकी महिलाको रक्त समूह पहिचान गर्न सकेनन् । यो शल्यक्रिया कुनै अतिरिक्त ‘ट्रान्सफ्युजन’ विना सफलतापूर्वक सम्पन्न भएको थियो ।
शल्यक्रियामा संलग्नमध्ये एक डा. अंकित माथुरले ती महिलाको रक्त समूह अन्य कुनै रक्त समूहसँग मेल नखाएको र अन्य रक्त समूहसँग मिसाएर परीक्षण गर्दा हरेक पटक प्रतिक्रिया गरिरहेको बताउनुभयो । त्यसपछि ती महिलाको परिवारका २० जना सदस्यहरूको रगतको नमूना लिए पनि कसैसँग मेल नखाएको डा. माथुरले बीबीसीसँग भन्नुभयो ।
त्यसपछि डाक्टरहरूले रगतको नमूना बेलायतको ब्रिस्टलमा रहेको अन्तर्राष्ट्रिय रक्त समूह सन्दर्भ प्रयोगशाला (आईबीआरजीएल) मा पठाएको थिए । यसको पूर्ण विश्लेषण गर्न डाक्टरहरूलाई १० महिना लाग्यो ।
गएको फेब्रुअरी–मार्चमा बेलायतको प्रयोगशालाले बिरामीको रगतमा एक अद्वितीय एन्टिजेन भएको जवाफ पठाए । त्यसपछि यो जानकारी इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजन (आईएसबीटी) लाई पठाइएको थियो । त्यहाँका विज्ञहरूले सीआरआईबी नामलाई अनुमोदन गरेका हुन् ।
बेङ्गलुरुकी महिलाले कसैबाट रगत लिन नसक्ने तर बम्बे रक्त समूह भएका मानिसहरूले जस्तै अरूलाई रगत दान गर्न सक्ने खबरमा उल्लेख छ ।
बम्बे एक दुर्लभ रक्त समूह हो, यो विश्वमा १० लाख मानिसहरूमा एक जनामा पाइन्छ । यद्यपि मुम्बईमा यसको दर प्रत्येक दश हजार मानिसहरूमा एक जना रहेको विशेषज्ञहरूले बताएका छन् ।
तपाईको प्रतिक्रिया