बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

मंगलबार श्रावण २१, २०८२/ Tuesday 08-05-25
Paschim Today

काठ्माण्डौँ । बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रि बनेका हुन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका मकवानपुर निवासी बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन् । बानियाँ भन्दा अगाडि पाँच जना डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।

मकवानपुरबाट मुख्यमन्त्री हुने बानियाँ दोस्रो हुन् । संस्थापक मुख्यमन्त्री पौडेल पनि मकवानपुरबासी हुन् । पेसाले निर्माण व्यवसायी बानियाँ कम्युनिस्टहरूको गढ मानिएको मकवानपुरबाट सांसद जित्ने पहिलो कांग्रेस नेता हुन् । उनी ४ मंसिर २०७० मा भएको संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

बानियाँ २०७३ सालमै केन्द्र सरकारको गृह राज्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भइसकेका छन् । फागुन २०७३ सालमा गृह राज्यमन्त्री भएका उनी त्यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए । तत्कालीन सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई गृहराज्यमन्त्री बनाइएको थियो ।

२०७४ बाट संघीयता कार्यान्वयनमा गएसँगै तीन तहको सरकार गठन हुने भएपछि बानियाँ प्रदेशसभा निर्वाचन लडेका थिए । २०७४ सालपछि बानियाँ नेपाली कांग्रेस संसदीय दलको नेता थिए । अघिल्लो कार्यकालमै मुख्यमन्त्री हुन खोजेका बानियाँ असफल बन्न पुगेका थिए ।

प्रदेशसभाको दोस्रो कार्यकालमा दलको नेताबाट पराजित भएका बानियाँ साढे २ वर्षपछि दलको नेताबाट बहादुर सिंह लामालाई हटाएर आफैं बने । १३ पुस २०७९ मा दलको नेताका लागि भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए ।

९ साउन ०८२ मा मुख्यमन्त्रीसमेत रहेका दल नेता लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराए । १३ साउनमा अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेपछि लामाले दल नेताको हैसियत गुमाएका थिए । गत १४ साउनमा दलको नेता चयनका लागि भएको निर्वाचनमा लामालाई हराएपछि बानियाँको मुख्यमन्त्री हुने बाटो खुलेको थियो ।

कांग्रेसकै बहादुर सिंहले आइतबार मुख्यमन्त्रीबाट राजीनामा घोषणा गरेर सोमबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा दर्ता गराएका थिए । उनको राजीनामा स्वीकृत भए लगत्तै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि २४ घण्टाको अर्थात मंगलबार दिउसो २ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सरकार गठनका लागि आह्वान भएको करिब आधा घण्टामै बानियाँले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेश गरेका थिए ।

११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ । सात वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेश सभामा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७, नेमकिपाको ३ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

बागमतीमा एक वर्षअघि सरकार गठन हुँदा एमाले र कांग्रेसबीच २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति थियो । जसअनुसार बानियाँले ८ महिना सरकारको नेतृत्व गरि आगामी फागुनमा एमालेलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ ।