नेपालीलाई विदेशमा लगानी गर्न दिने कानुन बनाउँछौँः अर्थमन्त्री पौडेल

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छिट्टै कानून बनाएर नेपालीहरुलाई विदेशमा लगानी गर्न दिने बताएका छन्।
मंगलबार प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले विदेशमा लगानी गर्न नेपालीले नपाउने अहिलेको कानूनलाई हटाइने बताए।
उनका अनुसार बजेटमै नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा बिक्री शाखा वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइने व्यवस्था गर्ने घोषणा गरिएको छ।
उनले बजेटले प्रस्ताव गरेका व्यवस्थाहरुलाई कार्यान्वयन गर्न सरकार अघि बढिसकेको उल्लेख गरे। हाल विदेशमा लगानी गर्न प्रतिबन्ध ऐन, २०२१ को दफा ३ बमोजिम कसैले विदेशमा लगानी गर्न नपाउने व्यवस्था छ। त्यसलाई सरकारले संशोधन गर्न लागेको हो।
उनले भने, ‘नेपालीलाई विदेशमा लगानी खुल्ला गर्नका लागि निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने कानुनी व्यवस्था गरिदैँ छ। यस्तो व्यवसायबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने छ। विदेशमा गरिने लगानी स्वीकृतिको जिम्मेवारी लगानी बोर्डमा रहने व्यवस्था गरिने छ।’
तपाईको प्रतिक्रिया