एलन मस्कको नयाँ एआईले अश्लील तस्बिर पनि बनाउने, ‘स्पाइसी मोड’ भएको ‘ग्रोक इम्याजिन’ सार्वजनिक

काठमाडौँ । खर्बपति उद्यमी एलन मस्कको एआई कम्पनी एक्सएआईले ‘ग्रोक इम्याजिन’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीले हालै मात्र अनफिल्टर्ड तस्वीर र भिडिओ बनाउन सक्ने फिचर ल्याएको हो ।
हाल यो एक्सका प्रिमियम प्लस र सुपरग्रोक प्रयोगकर्ताका लागि उपलब्ध छ । मस्कको अन्य एआई टुल जस्तै यस एआईले पनि सीमा तोड्दै प्रयोगकर्तालाई अश्लील (NSFW - Not Safe For Work) सामग्री बनाउन अनुमति दिने गरको छ ।
‘ग्रोक इम्याजिन’मा रहेको ‘स्पाइसी मोड’ (Spicy Mode) नामक एक विशेष फिचर छ । यो फिचर प्रयोग गर्दा प्रयोगकर्ताले सहजै यौनिक रूपमा स्पष्ट सामग्री बनाइदिन्छ । विशेषगरी महिलालाई आंशिक नग्न रूपमा देखिएको तस्बिर बनाउने गरेको छ ।
शब्दकै भरमा फोटो बनाउने वा फोटोलाई १५ सेकेन्डको भिडिओमा एनिमेट गर्ने विशेष क्षमता यस टुलमा छ । यसरी लामा भिडिओ त्यो पनि अन्फिल्टर्ड बनाउन सक्ने भएपछि अहिले यसले एआईको दुनियाँमा नयाँ बहस सिर्जना गरेको छ ।
तर, यसमा केही सीमाहरू पनि छन् । समाचार संस्था टेकक्रन्चले परीक्षण गर्दा धेरैजसो आपत्तिजनक प्रम्प्टमा ब्लर (धमिलो) गरिएका तस्बिरहरू आएका थिइ । यद्यपि केही हदसम्मका अर्धनग्न तस्बिर भने बनाउन सकिएको थियो ।
एक्स एआईका लागि यस्तो अश्लील सामग्री बनाउन दिने सुविधा नौलो होइन । कम्पनीले गत महिना मात्रै एक यौनिकतामा आधारित एनिमे एआई ‘कम्प्यानियन’ (साथी) सार्वजनिक गरेको थियो । जसरी ग्रोक च्याटबटले सुरुमा मनोरञ्जन दिए पनि पछि घृणित र आपत्तिजनक सामग्री दिन थालेको थियो त्यसरी नै ‘ग्रोक इम्याजिन’ले पनि अनपेक्षित नकारात्मक परिणाम ल्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ ।
यो एआईले डोनाल्ड ट्रम्पदेखि टेलर स्विफ्टजस्ता चर्चित व्यक्तिको तस्बिर बनाउन सक्ने भए पनि त्यसमा केही प्रतिबन्ध लगाइएको देखिन्छ । उदाहरणका लागि टेकक्रन्चले ट्रम्पलाई गर्भवती देखाउने तस्बिर बनाउन खोज्दा एआईले त्यसो गर्न अस्वीकार गरेको थियो । बरु यसले बच्चा बोकिरहेको वा गर्भवती महिलाको छेउमा उभिएको ट्रम्पको तस्बिर बनाइदियो ।
गुगल डीपमाइन्ड, ओपनएआई र अन्य प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको ‘ग्रोक इम्याजिन’ले बनाउने मानवीय तस्बिर अझै पनि पूर्ण रूपमा यथार्थपरक छैनन् । कहिलेकाहीँ छाला मैनजस्तो र कार्टुनजस्तो देखिन्छ । यद्यपि यो जेनेरेटर निकै प्रभावशाली देखिन्छ । यसले टेक्स्ट प्रम्प्टबाट सेकेन्डमै तस्बिर बनाउँन सक्छ भने यसको युजर इन्टरफेस पनि सरल छ ।कम्पनीका प्रमुख एलन मस्कले आफ्ना प्रमुख आदर्श व्यक्ति निकोला टेस्लाको एआई एनिमेटेड भिडिओ शेयर गरेका छन् । उक्त भिडिओमा निकोला टेस्ला कुर्सीमा बसिसरहेको देखिन्छन् । छ सेकेन्डको उक्त क्लिपमा टेस्लाले आफ्नो हात चलाएको देखिन्छ ।
तपाईको प्रतिक्रिया