धुलो र हिलो रहित सडकका लागि काम गरिरहेको अर्थमन्त्रीको दाबी

बुधबार श्रावण २२, २०८२/ Wednesday 08-06-25
Paschim Today

काठमाडौं : अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धुलो र हिलो रहित सडकको परिकल्पना व्यवहारिकरुपमा सार्थक तुल्याउन काम गरिरहेको दाबी गरे।

बुधवार नाइमा नेपाल मोबिलिटी एक्स्पो– २०२५ को उद्घाटन गर्दै उनले सडक निमार्णको सिलसिलामा धुलो र हिलो रहित सडकको परिकल्पना पुरा गर्न काम गरिरहेको दाबी गरेका हुन्।

‘अब हामी धुलो रहित सडक र हिलो रहित सडकको परिकल्पना मात्र गरिरहेका छैनौ त्यसलाई व्यवहारिक रूपमा सार्थक तुल्याउँदै छौ। हामी सडक निमार्णको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेका छौ’ उनले दाबी गरे।

उनले चालु आर्थिक वर्षको बजेटमा सडकको गुणस्तर वृद्धिका साथै भू–बनोट अनुसार बिसिसि वा आरसिसीको आवश्यकता अनुसार सडक निर्माण गरिने समेत बताए।

उनले आगामी दुईदेखि तीन वर्षभित्र भृकुटीमण्डपमा अत्याधुनिक प्रदर्शनी स्थल बन्ने समेत दाबी गरे। मन्त्री पौडेलले भृकुटीमण्डप परिसरमा भएका संरचना भत्काएर अत्याधुनिक, व्यवस्थित, आकर्षक प्रदर्शनी स्थल बन्ने दाबी गरे।

उनले यसबारे बजेटमा व्यवस्था भएको र ढिलोमा दुई वर्ष भित्र नभए पनि तीन वर्षभित्र भृकुटीमण्डपमा आधुनिक र अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण हुने दाबी गरे। यसका लागि अन्तर्राष्ट्रिय कन्सल्टेन्सीको समेत सहयोग लिन सकिने उनले बताए।