रविन्द्र ढाँटलाई राष्ट्रपति पौडेलको सम्मान, भने- खेलाडीको भविष्य खेल क्षेत्रमै सुरक्षित गर्न सरकारले ध्यान दिनुपर्छ

बुधबार श्रावण २२, २०८२/ Wednesday 08-06-25
Paschim Today

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रविन्द्र ढाँटलाई सम्मान गरेका छन् । बुधबार शीतलनिवास आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता ढाँटलाई सम्मान गरेका हुन् । कार्यक्रममा पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए । 

राष्ट्रपति पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवम् खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताए । ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन्,’ उनले भने ।

व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्त्व रहेको बताउँदै राष्ट्रपति पौडेलले भने, ‘खेल क्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित संस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले बझाङको बाघ भनेर परिचित नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले आफ्नो खेल कौशल, सामर्थ्य, शक्ति र खेलप्रतिको अगाध समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीहरूका लागि गौरवको विषय भएको बताए ।