किर्गिस्तानमा प्रत्यक्ष नेपाली गीत संगीत प्रस्तुत

काठमाडौं । ‘एभरेस्ट नेपाल कल्चरल ग्रुप’ले किर्गिस्तानको चोल्पोन अटे सहरमा नेपाली गीत संगीत प्रस्तुत गरेको छ । किर्गिस्तानको मन्त्री परिषद् र संस्कृति मन्त्रालयको आयोजनामा भएको ‘युरुस–सानातु’ विश्व परम्परागत संस्कृति एवम् संगीत मेलामा नेपालको तर्फबाट एभरेस्ट नेपाल कल्चरल ग्रुपका कलाकारहरूले नेपाली वाद्यवादनसहित यहाँका लोक मौलिक धुनहरू प्रस्तुत गरेका हुन् ।
किर्गिस्तानको चोल्पोन अटे सहरमा यो सांस्कृतिक मेला शुक्रवार १ अगस्ट देखी ३ अगस्टसम्म आयोजना गरिएको थियो । त्यहाँ आफूहरूले आइतबार नेपाली गीत संगीत प्रस्तुत गरेको ‘एभरेस्ट नेपाल कल्चरल ग्रुप’का प्रमुख आरसी कोइराला (रामचन्द्र)ले राजधानीलाई जानकारी गराए । उनका अनुसार यो मेलामा नेपाल सहित ५० भन्दा बढी देशका कलाकारहरूको सहभागी रहेको थियो ।
तीन दशक भन्दा लामो समयदेखि नेपाली मौलिक गीत संगीत, एवम् नृत्यलाई विश्वका धेरै देशमा प्रस्तुतिसहित सांस्कृतिक आदान प्रदान गर्दै आएको आफूहरूको यस पटकको प्रस्तुतिले पनि निकै प्रशंसा पाएको आरसीले राजधानीलाई बताए ।
कोइरालाको नेतृत्वमा गएको नेपालको टिमबाट वाद्यवादक धनेस्वर तिवारी, बाँसुरीवादक राम भुजेल, गायिका तथा वाद्यवादक रिता कुमारी बुढाथोकी र सारंगीवादक खुम केसीले प्रत्यक्ष वाद्यवादनसहित नेपाली लोक गीत प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि त्यहाँका संस्कृति मन्त्रीले समेत उठेर ताली बजाउँदै नेपाली कलाकारहरूलाई सम्मान गरेको पनि समूह प्रमुख आरसीले जानकारी गराए ।
तपाईको प्रतिक्रिया