अधिवक्ता ठकुराठी उच्च अदालतको न्यायधिशमा नियुक्त

काठमाण्डौं,
न्याय परिषद्ले अधिवक्ता प्रताप सिंह ठकुराठीलाई उच्च अदालतको न्यायधिशमा नियुक्त गरेको छ ।
मन्त्रीपरिषदको बैठकले २७ जनालाई उच्च अदालतको न्यायधिश नियुक्त गरेकोमा सुदूरपश्चिमबाट न्यायधिश नियुक्त हुने ठकुराठी एक्ला अधिवक्ता हुन् ।
न्याय परिषदले उच्च अदालतको न्यायधिश नियुक्त गरेको छ जना कानून व्यवसायीमध्ये उनी एक हुन् ।
उच्च अदालतको न्यायधिश हुने अन्यमा एक जना सरकारी वकिल, १६ जना जिल्ला अदालतका न्यायधिश रहेका छन् । त्यस्तै न्याय समूहबाट तीन जना र कानून समूहबाट एक जना उच्च अदालतको न्यायधिश नियुक्त भएका छन् ।
२०३१ साल असोज ९ गते डडेल्धुराको देवलदिव्यपुरको रुपालमा जन्मिएका ठकुराठीको बाल्यकाल गाउँमै बित्यो । गाउँकै विद्यालयबाट ८ कक्षाको पढाई पुरे । थप अध्ययनका लागि महेन्द्रनगर झरे ।
महेन्द्रनगरबाटै एसएलसी उत्तीर्ण भएका ठकुराठीले सिद्धनाथ बहुमुखी क्याम्पसबाट आईएलको पढाई पुरा गरे । त्यसपछि थप अध्ययनका लागि काठमाण्डौं पुगे । र, त्रिभुवन विश्वविद्यालयबाट बीएल र वाणिज्यशास्त्रमा एलएलएमको पढाई पुरा गरे ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार स्थायी घर भएका ठकुराठी हाल काठमाण्डौं नागार्जुन नगरपालिका–९ स्युचाटार बस्दै आएका छन् ।
काठमाण्डौंको त्रिपुरेश्वरस्थित ठकुराठी ल एशोसियट्स मार्फत अढाई दशकभन्दा लामो समयदेखि वकालत क्षेत्रमा सक्रिय ठकुराठी सुदूर पश्चिम कानून समाजका निवर्तमान अध्यक्ष हुन् ।
तपाईको प्रतिक्रिया