नागरिकको चियो गर्ने अधिकार सरकारलाई छैन: महामन्त्री शर्मा

शनिबार श्रावण २५, २०८२/ Saturday 08-09-25
Paschim Today

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले नागरिकको चियो गर्ने अधिकार नराख्ने बताएका छन्।

‘राष्ट्रिय गुप्तचर तथा अनुसन्धानसम्बन्धी विधेयक’को मस्यौदा सार्वजनिक भएपछि यसमाथि चौतर्फी विरोध भइरहेको सन्दर्भमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो धारणा राखेका हुन्।

महामन्त्री शर्माले सरकारलाई नागरिकको आँगनसम्म पुग्ने अधिकार भए पनि ओछ्यानसम्म पुगेर अनुसन्धान गर्ने अधिकार नभएको स्पष्ट पारे।

उनले व्यक्तिको फोन संवाद सुन्ने र रेकर्ड गर्ने कार्यले व्यक्तिको गोपनीयताको हकको हनन हुने तर्क गरे। नागरिकलाई सुरक्षा दिने जिम्मेवारी पाएको सरकारले नै निगरानीको नियत राख्नु निन्दनीय भएको उनको भनाइ छ।

नेपालमा कानुनको दुरुपयोग र अपव्याख्या धेरै हुने गरेको उल्लेख गर्दै महामन्त्री शर्माले यस्ता कानुनलाई सत्ता र शक्तिमा बस्नेहरूले आफ्नो स्वार्थअनुकूल प्रयोग गर्ने जोखिम रहेको बताए। उनले जनतालाई स्पष्ट जानकारी दिएर मात्र यस्ता कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।

२०७६ सालमा पनि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यस्तै विधेयक ल्याउन खोज्दा चर्को विरोधपछि रोकिएको स्मरण गर्दै शर्माले अहिले पनि त्यही व्यक्ति प्रधानमन्त्री हुँदा यस्तो विधेयक ल्याउन खोज्नुलाई शंकाको दृष्टिले हेर्नुपर्ने आवश्यकता रहेको औंल्याए।

उनले भने, “सरकारले गर्ने कार्य संविधानप्रतिकूल र व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप हुने गरी हुनु बिल्कुलै स्वीकार्य हुँदैन।”

यस विधेयकले नेपालको संविधानको धारा १८ मा उल्लेखित गोपनीयताको हकको हनन गर्ने भन्दै अहिले यसको चौतर्फी विरोध भइरहेको छ।