यौन अपराधमा दोषी अस्ट्रेलियाली सांसदले दिए राजीनामा, १४ वर्षको जेल सजाय हुन सक्ने

अस्ट्रेलियाली सांसद ग्यारेथ वार्ड यौन अपराधमा दोषी ठहरिएपछि संसदबाट राजीनामा दिन बाध्य भएका छन्। न्यु साउथ वेल्स (एनएसडब्ल्यू) संसदमा उनलाई निष्कासन गर्न मतदान हुने तयारी भइरहेका बेला शुक्रबार बिहान उनले राजीनामा दिएका हुन्।
४४ वर्षीय वार्डमाथि सन् २०१३ मा १८ वर्षीय युवक र सन् २०१५ मा एक २४ वर्षीय कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोग थियो। उनलाई एक गैरस्वीकृत यौन सम्पर्क र तीन अभद्र हमलाको अभियोगमा दोषी ठहर गरिएको छ। उनको सजाय सेप्टेम्बर २०२५ मा सुनाइने तय भएको छ, जसमा उनलाई अधिकतम १४ वर्षको जेल सजाय हुन सक्छ।
न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले वार्डको संसदमा बसिरहनु ‘हास्यास्पद’ भएको बताए। उनले भने, ‘गम्भीर यौन अपराधमा दोषी ठहरिएको व्यक्ति संसदमा बसेर तलब लिन सक्दैन। जेलबाट समुदायको प्रतिनिधित्व कसरी सम्भव छ?’ संसदका नेता रोन होनिगले वार्डको ढिलाइलाई ‘लज्जास्पद’ भन्दै उनको राजीनामालाई ‘१०७ वर्षमा पहिलो निष्कासनको तयारी’ बाट बचेको कदमको रूपमा टिप्पणी गरे।
वार्ड सन् २०११ देखि कियामाको सिटमा सांसद थिए, सुरुमा लिबरल पार्टीबाट र पछि स्वतन्त्रको रूपमा। यौन दुर्व्यवहारको आरोप लागेपछि सन् २०२२ मा उनलाई संसदबाट निलम्बन गरिएको थियो, तर सन् २०२३ मा उनलाई मतदाताले पुन: निर्वाचित गरेका थिए। उनले आफ्नो दोषविरुद्ध अपील गर्ने योजना बनाएका छन्। उनको राजीनामापछि कियामामा उपचुनावको मिति चाँडै तय हुने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया