कैलाली कारागार घटना : पाँच दिन पहिल्यै आयोगले गराएको थियो सूचित, ५९० कैदीबन्दीले बुझाएका थिए निवेदन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप हुनुअघि नै जिल्ला कारागार प्रशासनलाई सूचित गराएको पाइएको छ ।
सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले आज जिल्ला कारागारलाई पत्र पठाउँदै प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको हो।
साथै, कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि गरिएको प्रशासनिक तथा समन्वयात्मक पहलहरूको प्रतिवेदन माग गरिएको छ।
कार्यालयले जिल्ला कारागार, कैलालीमा रहेका करिब ५९० जना कैदीबन्दीहरूको संयुक्त निवेदनपछि कारागारभित्रको अवस्था र मानव अधिकार उल्लंघनका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
आयोगमा प्राप्त निवेदनमा कैदीबन्दीहरूले कारागार प्रशासनसँगको असहज सम्बन्ध, आन्तरिक व्यवस्थापनमा पारदर्शिताको अभाव, गैरकानुनी आर्थिक लेनदेन, लागुऔषध तस्करी, बाह्य व्यक्तिहरूसँग अवैध सम्पर्क गराउने, मनमुटाव र मुठभेडको अवस्था सिर्जना गराउने प्रयास, चौकीदाररनाइकेको छनौटमा अनियमिता, र रातारात कैदी स्थानान्तरणजस्ता गम्भीर आरोपहरू उल्लेख गरेका छन्।
निवेदनमा विशेष गरी असार ३० को राति १० बजेतिर दुई वटा सरकारी सवारीसाधनसहित प्रशासन र प्रहरी टोलीको उपस्थितिमा स्थानान्तरणको प्रयास गरिएको घटनालाई उदाहरणस्वरूप उल्लेख गरिएको छ, जसलाई कैदीबन्दीहरूले धम्कीको रुपमा व्याख्या गरेका छन्।
तपाईको प्रतिक्रिया