छाउगोठ भत्काएपछि पाँच दिनदेखि खेतमा पाल टाँगेर बसेका थिए निम र रत्ना

काठमाडौं। अछामको पञ्चदेवल विनायक नगरपालिका-८ सेलपानीस्थित चुरेखोली टोलकी ३६ वर्षीया रत्ना भण्डारी र ३५ वर्षीया निम खनाल पालको छाउगोठ बनाएर राति-राति घरबाहिरै सुत्ने गरेका थिए। घरमा रहेको छाउगोठ भत्काएका कारण उनीहरू महिनावारी भएपछि घरनजिकै ५० मिटर टाढा खेतमा भीरमुनि त्रिपाल टाँगेर राति सुत्ने गरेका थिए।
प्रहरीका अनुसार उनीहरू त्रिपालको टाँगेर बसेको पाँचौं दिन भएको थियो। बिहीबार रातिदेखि शुक्रबार बिहानसम्मै वर्षा भरहेको थियो। शुक्रबार एकाबिहानै माथिबाट ढुंगा खस्यो। अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार शुक्रबार बिहान साढे ५ बजे माथिबाट खसेको ढुंगाले किचेर रत्नाकी सात वर्षीया छोरी कविता भण्डारी र निमको घटनास्थलमै मृत्यु भयो। रत्नाको भने टाउकोमा चोट लागेको छ। गम्भीर अवस्थाकी उनलाई उद्धार गरी सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको लागि पठाइएको छ।
“घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली पठाइएको छ,” खनालले भने, “शवको मुचुल्का उठाएर पोस्टमार्टमको लागि सदरमुकाम ल्याइँदै छ।” डीएसपी खनाल महिनावारी हुँदा घरमा बस्नुहुँदैन भन्ने रूढिवादी परम्पराले गर्दा यस्तो घटना हुन पुगेको बताउँछन्। मृतक निमका दुई छोरा एक छोरी छन्। घाइते रत्नाका ६ जना छोराछोरीमध्ये एक छोरीको छाउगोठ बनाइएको त्रिपालमुनि ढुंगाले किचेर ज्यान गयो।
अछाममा पछिल्लो दुई वर्ष छाउपढी हटाउनका लागि छाउगोठ भत्काउने अभियान चलाइएको थियो। सो अभियानअन्तर्गत सेलपानीका छाउगोठहरू भत्काइएको थियो। “गोठ भत्काएपछि पनि फेरि बनाइहाल्ने चलन रहेछ,” खनालले भने, “जनचेतनाका कार्यक्रम गरिरहेको भए पनि महिनावारी हुँदा महिलाहरू घरमा बस्दा रहेनछन्।”
अछाममा महिनावारीका बखत घरमा बस्दा देउता रिसाएउँछन् भन्ने भ्रम समाजमा छ, त्यसबाट निम्तिने ‘अनिष्ट’ले सखाप पार्छ भन्ने भ्रमले पूरै समाज ग्रसित रहेको डीएसपी खनाल बताउँछन्। “देश आधुनिक बनिसक्दा पनि अछामको समाजलाई लाग्छ– महिनावारी भएका महिला घरभित्र बसे बस्तुभाउ, बाख्रापाठा मर्छन्। जंगली जनावर आएर आक्रमण गर्छ। महिनावारी हुँदा घरभित्र बस्दा देउता दु:खी हुने हुनाले घरमा शान्ति-समृद्धि हुँदैन। त्यसैले, घरबाहिरै बस्नुपर्छ भन्ने कुरीति छ,” खनालले भने।
अछामका गरिब, विपन्न, दलित समुदाय मात्रै होइन, कथित ‘माथिल्लो जात’ भनिएका समुदाय र उच्च वर्गका सम्पन्न मानिसहरू छाउपडी प्रथामा ‘कठोर’ भएको उनी बताउँछन्। छाउगोठमा नबस्नेलाई सामाजिक तिरस्कार, अपमान र बहिष्कार गर्ने गरेका छन्।
यो घटनासँगै अछाम जिल्लामा छाउगोठमा परी हालसम्म १६ जनाको मृत्यु भएको छ। खनालका अनुसार ती १६ जनामध्ये प्रहरीको जानकारीमा आएका घटना पाँच वटा मात्रै छन्। अन्य ९ जनाको मृत्यु भएको तथ्यांक विभिन्न सरोकारवाला निकायहरूबाट लिइएको हो।
२०७३ साल मंसिर ३ गते साबिक तिमल्सेन गाविस-७ की डम्बरा उपाध्यायको छाउगोठमा निसास्सिएर मृत्यु भएको थियो। त्यसको एक महिनामै २०७३ पुस ३ गते साबिक गाजरा गाविस-७ की १५ वर्षीया रोशनी तिरुवाको छाउगोठमा निसास्सिएर मृत्यु भयो। एक वर्षपछि २०७४ पुस २३ गते तुर्माखाँदा गाउँपालिका-३ की २१ वर्षीया गौरी बयक बुढाको छाउगोठमा निसास्सिएर मृत्यु भएको थियो।
यसैगरी, २०७५ जेठ २७ गते तुर्माखाँदा गाउँपालिका-४ की २२ वर्षीया पार्वती बुढाको छाउगोठमा बस्दा सर्पले डसेर मृत्यु भएको थियो। अर्को वर्ष २०७६ मंसिर १५ गते साँफेबगर नगरपालिका-६ की २२ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा निसास्सिएर मृत्यु भएको थियो।
यसरी महिनै र वर्षैपिच्छे छाउगोठमा मृत्यु हुन थालेपछि राज्यका निकायहरू सोच्च बाध्य बने र २०७६ सालमा गोठ भत्काउने अभियान लिएर गाउँ पसेका थिए। केही समय गोठ भत्काएपछि कोभिड-१९ महामारीले अभियान थामियो।त्यसपछि स्थानीय सरकार मात्रै होइन, संघीय सरकार मातहतका कुनै पनि निकाय गाउँमा पुगेनन्। त्यसको नतिजा गोठ बन्न थाले, महिलाहरू छाउगोठमा निसास्सिन थाले।
दुई महिनाअघि पुनः छाउगोठ भत्काउने अभियान चलाइएको थियो। अभियान रोकिनेबित्तिकै यस्तो घटना भएको डीएसपी खनाल बताउँछन्।
तपाईको प्रतिक्रिया