‘गुन भुल्यौ’ पछि ‘मैना चरी’ ल्याएर आईन् सारिका

काठमाण्डौं, २४ साउन ।
‘गुन भुल्यौ’ गीतबाट चर्चाको शिखरमा रहेकी सारिका घिमिरेको नयाँ गीत ‘मैना चरी’ बजारमा आएको छ ।
सारिकाले आफ्नो अफिसियल युट्युव मार्फत शुक्रवार मध्यराति ‘मैना चरी’ सार्वजनिक गरिन् ।
सारिकाले ‘मैना चरी’ मा महिलामाथि हुने हिंसालाई अभिव्यक्त गरेकी छन् । ‘मैना चरी’ नेपाली समाजको ऐना हो । ‘मैना चरी’ समग्र महिलाको पीडा हो । वेदना हो । यो बिरहको गीत मात्र होईन । यो नेपाली समाजको यथार्थता हो ।
भद्दा शब्द, कर्कश स्वर, बेसुरको संगीतले बजार पिटिरहेको बेला सारिकाले एउटा हृदयस्पर्शी गीत गाएकी छन् । ‘मैना चरी’ मा सारिकाले मनको गहिराईबाट आम महिलाको पीडालाई उतारेकी छन् । गुन भुल्यौ गीतमा उनको कर्णप्रीय स्वरले स्रोताको मन जितिसकेको छ । ‘मैना चरी’ मा उनले गरेको अभिनय बेजोड छ । जसले दर्शकहरुलाई तानिरहने छ । शब्दमा झै गीतको भावमा डुबेर अभिनय गरेकी छन्, सारिकाले । उनी शब्द शिल्पी मात्र होईनन्, उनले अभिनयमा पनि आफूलाई अब्बल रुपमा प्रस्तुत गरेकी छन् । मैना चरीमा योगेश काजीको संगीतले सुनमाथि सुगन्ध थपेको छ ।
भ्यूज बटुल्ने लोभ उनमा देखिदैन् । न ग्ल्यामर, न अश्लिलता । उनले छाडा शब्द, छोटा कपडा, उत्तेजक अभिनय रोजिनन् । हो, उनी भीडको पछि लागिनन् । भीडले के खोज्छ, उनलाई छु मतलव ।
सारिका गीतमा, अरु छोरी सरह आफूलाई हाँस्न दिन मैना चरी बनेर दैवसंग आग्रह गर्छिन् । सात जुनीमा विश्वास गर्ने हिन्दु समाज । उनी सात जुनीको अपेक्षा गर्दिनन् । एकै जुनी खुशीसंग बाँच्ने पाए पुग्यो । गीतमा व्यक्त छ, उनको यही चाहना । हो, उनलाई सात जुनीको आस छैन् ।
यो गीत मात्र होईन । यो कथा हो, मैनाको । यो बेदना हो, आकाशभन्दा पर उड्ने उत्कण्ट ईच्छा बोकेकी मैना चरीको । पखेटा काटिएका त्यो मैना चरी, जसले सपनाको उडान भर्न पाएकी छैनन् । हो, यो कथा सारिकाको हो । मैनाको हो । र, समग्र महिलाको हो ।
घामलाई कुर्दा कुर्दै जसले जुन डुबेको पत्तै पाईन् । त्यो मैना चरी, जसको जीवनले आँधी बेहो¥यो । अध्याँरो बाँच्यो । सम्बन्धले दिएका घाउहरु । मनभरी पीडा । काँडामाथिको बाटो । जसले भनिनन् फेरि पनि, ऐया । हो यो कथा हो, आँखाको डीलभित्र आँशुलाई रोकेर मुस्कुराईरहने मैनाको ।
सुनको पिजडामा राखिएकी मैना चरी । सम्बन्धको फलामे जञ्जीरमा बाँधिएकी सारिका । त्यो जञ्जिर । त्यो पिजडा । जसका रहर उस्तै छन् । पीडा उस्तै छ । चुडालेर त्यो जञ्जिर र पिजडा । उस्तै निस्फिक्री उड्ने चाहना छ । सारिकाभित्र मैना चरी झै ।
उनी गीतमा कही उद्देलित हुन्छिन् । कही अशान्त । कही आक्रोशको आगो ओकल्छिन् । उनी गीतमा कही दैवसंग आग्रह गर्छिन् । कही माईतीसंग गुनासो । जन्मी हुर्किएको माईती आँगन पराई भएको पीडा ओकेल्छिन् । र गर्छिन, माईतीसंग गुनासो । दैवबाट आफ्ना सवै सन्तानप्रति समान व्यवहार नभएकोमा उनको चित्त दुखाई छ । किन कसैको जीवनमा पीडै पीडा ? कसैको जीवनमा हाँसो ? उनीभित्र त्यस्ता कैयौं प्रश्नहरु छन् । जो अनुत्तरित छन् ।
एउटी महिलाले प्रतिदिन परिवार, समाज र आफ्नाहरुबाट भोग्ने लाञ्छना, आरोप र प्रताडना । कति हुन् कति । कही ती आँशु बनेर पोखिन्छन् । कही महिला हिंसाका नाममा उजुरीमा दर्ज हुन्छन् । उनले कही उजुरी हालिनन् । न त बगाईन्, आँशुमा । उनी पोखिईन, गीतमा । र बन्यो, मैना चरी
मैना चरी सुन्दा र हेर्दा यस्तो लाग्छ, सारिकाको हृदयबाट छचल्किएका पीडाहरु अक्षर बनेर पोखिए । र बन्यो, एउटा हृदयस्पर्शी गीत ।
तपाईको प्रतिक्रिया