कैलाली कारागार घटनाबारे सिडिओको प्रष्टीकरण: अवस्था सामान्य बन्यो, घटनाको छानबिन हुन्छ

शनिबार श्रावण २५, २०८२/ Saturday 08-09-25
Paschim Today

कैलाली । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जिल्ला कारागारको अवस्था सामान्य बन्दै गइरहेको बताएका छन् । कारागारमा भएको झडपपछि अपराह्न पत्रकार सम्मेलन गरेर उनले अहिले अवस्था सामान्य बन्दै गइरहेको र घटनाबारे छानबिन हुने बताएका हुन् ।

कैलालीको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिँदै उनले १० दिनभित्र त्यसले प्रतिवेदन दिने र सो प्रतिवेदनको आधारमा अघि बढ्ने समेत उनको भनाइ थियो ।

अहिलेसम्म पनि घटना स्थलमा प्रहरी पुग्न सकेको छैन । तर, प्रहरीले चौकीदारमार्फत वर्तमान अवस्था बुझिरहेको उनले जानकारी दिए।

‘अहिलेसम्म पनि हामी भित्र पस्न सकेका छैनौँ ’ उनले भने ‘कारागारको आन्तरिक सुरक्षा हेर्ने चौकीदारले अवस्था सामान्य भएको बताउनु भएको छ । ’

झडपपछिको कारागारको अवस्थालाई सामान्य बनाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारीको भनाइ छ । ‘कारागारभित्र आन्तरिक व्यवस्थापनमा नेतृत्व कसले लिने भन्ने विषयमा कैदीबिच भएको झगडाले घटना घटेको हो’ उनले भने ‘अहिले अवस्था ठिक छ ।’

घाइतेको यथाशीघ्र सुविधा सम्पन्न अस्पतालमा उपचार र कारागारको शान्ति सुरक्षा कायमका लागि समन्वय भइरहेको उल्लेख उनले बताए । केही दिन अगाडि झगडा भएपछि दुई समूहलाई शुक्रवार मात्रै जिल्ला सुरक्षा समितिले सम्झाएको थियो ।

त्यस पश्चात् पनि ब्लक ए का कैदीले ब्लक बी मा रहेका कैदीमाथि आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी हमालको भनाइ छ । शुक्रवार मध्यरात भएको घटनामा एक कैदीको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।