३० घण्टादेखि कैदीबन्दीको कब्जामा कैलाली कारागार

खेमराज उपाध्याय
धनगढी, २५ साउन ।
शुक्रवार मध्यराति कैदबन्दीहरुबीच भएको झडपपछि प्रहरीले कैलाली कारागारमाथि नियन्त्रण गुमाएको छ । ३० घण्टादेखि कैलाली कारागार कैदीबन्दीहरुको नियन्त्रणमा छ ।
शुक्रवार मध्यराति कैदीबन्दीबीच एक जनाको मृत्यु र ४८ जना घाईते हुने गरी भएको सामूहिक झडपपछि प्रहरी कारागार भित्र जान सकेको छैन् । शनिवार बिहान झडपपछिको कारागार भित्रको अवस्था बुझ्न गएका कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा सहितका सुरक्षा प्रमुखहरुलाई कैदीबन्दीहरुले भित्र प्रवेश गर्न दिएनन् ।
कैदीबन्दीहरुले कारागारको प्रवेशद्धारमा सिलिण्डर र प्रेसर कुकर राखेका छन् । सुरक्षाकर्मी भित्र प्रवेश गर्न खोजे सिलिण्डर र कुकर पड्काउने कैदीबन्दीले धम्की दिएका छन् ।
त्यही धम्कीका कारण पनि कारागारभित्र सुरक्षाकर्मीहरु प्रवेश गर्न सकेका छैनन् ।
प्रमुख जिल्ला अधिकारी हमालले शनिवार राति पत्रकारहरुकोसंगको भेटमा कारागारको अवस्था सामान्य भएको र कारागारभित्रको अवस्थाका बारेमा सूचना नाईकेबाट प्राप्त भईरहेको बताए ।
यद्दपि कारागारको नाईके पनि कैदीबन्दीहरुको नियन्त्रणमा रहेकोले नाईकेले दिने सूचना भरपर्दो नहुने स्रोतको दावी छ ।
एक जना घाईतेलाई काठमाण्डौं लगियो
कैलाली कारागारमा कैदीबन्दीहरुबीच भएको झडपमा परी गम्भीर रुपले घाईते भएका आयुष भट्टलाई उपचारका लागि काठमाण्डौं लगिएको छ ।
घाईते भट्टलाई सेनाको स्काई भ्यानमा राति करीव साढे आठ बजे काठमाण्डौं लगिएको हो ।
दुई जना घाईतेलाई धनगढीकै एक निजी अस्पतालमा राखिएको छ । अन्य घाईतेलाई सेती प्रादेशिक अस्पतालको कोरोना वार्डमा राखिएको छ । जहाँ मिडियाकर्मी र परिवारजनलाई प्रवेशमा रोक लगाईएको छ । मिडियाकर्मीहरुले घाईतेका बारेमा सूचना संकलन गर्न पाएका छैनन् ।
शनिवार दिउँसो घाईतेहरुको अवस्था बुझ्न गएका कैलालीका प्रमुख जिल्ला अधिकारी हमाल र प्रहरी प्रमुख एसपी राणालाई घाईतेहरुलाई भेट्न पाउनु पर्ने आफन्तको दवावपछि मूल गेटबाट बाहिर निस्किन सकेनन् । दुबै जना कोरोना वार्डको पछाडिको पर्खाल नाघेर सशस्त्र प्रहरीको ३४ नम्बर गणहुदै बाहिर निस्किएका थिए ।
कारागारभित्र झडपका कारणहरु
२०७८ कार्तिक २३ गते कैलालीको टीकापुरमा दुई समूहको झडपमा भूपेन्द्र बडुवालको हत्या भयो । उनलाई लखेटी लखेटी खुकुरी प्रहार गरी हत्या गरियो । उनको हत्यामा संलग्न नवीन रावल, जयन्द्र शाह, कपिल श्रेष्ठ कारागारमा सजाय काटिरहेका थिए ।
२०८२ जेठ १५ गते टीकापुरमा नेविसंघका केन्द्रीय सदस्य टेकेन्द्र बिष्टमाथि सांघातिक आक्रमण भयो । बिष्टमाथि आक्रमण गर्ने रिदम ढुंगाना र मिलन चन्द कारागारमा थपिए ।
बडुवाल हत्या प्रकरणमा पक्राउ परेका शाह नेविसंघ केन्द्रीय सदस्य बिष्ट निकट थिए । बिष्टमाथि आक्रमण गर्ने ढुंगाना र चन्द भने बडुवाल हत्यामा संलग्न रावल निकट मानिन्छन् ।
दुई फरक ग्याङकाबीचमा पुरानो रिसिईवी छदैथियो । त्यसमाथि बडुवाल हत्यामा सजाय काटिरहेका युवाहरु कारागारभित्र आफ्नो प्रभुत्व जमाउन खोजिरहेका थिए ।
उनीहरुलाई कारागारमा एकैसाथ राख्नु नै झडपको एउटा कारण हो । अर्को कारण कारागार प्रशासनले कैदीबन्दीहरुलाई सरुवा गर्न खोज्नु भएको स्रोतको भनाई छ ।
तेस्रो कारण, कारागारभित्र हुने लागु औषधको कारोवार भएको बताईन्छ ।
चौथौ कारण, नयाँ नाईकेको नियुक्तिलाई लिएर कारागार भित्र रहेका समूहहरुका बीचको हानथाप भएको स्रोतको दावी छ । समुदायगत हिसावले पनि कारागार भित्र बर्चस्वको लडाई भुसको आगो झै भित्रभित्रै सल्किदै गयो । त्यो पनि झडपको एउटा कारण भएको बताईन्छ ।
क्षमताभन्दा पाँच गुणाभन्दा बढि कैदीबन्दी रहेको कारागारमा कैदीको उच्च चाप पनि झडपका थुप्रै कारण मध्ये एक मानिन्छ । कैदीहरु एक साथ सुत्न सक्ने अवस्था छैन् । कैदीहरु पालैपालो पनि पुरा निन्द्रा सुत्न पाउदैनन् ।
कहाँ चुक्यो प्रहरी प्रशासन ?
कैलाली कारागारमा दुई महिना यता कैदीबन्दीहरुबीच सरुवा र नाईकेको नियुक्तिलाई लिएर झडपका घट्ना हुदै आएका थिए ।
केहीदिन देखि नै कैदीबन्दीहरुले परिवारजनलाई कारागारभित्र झडपले भयावह रुप लिनसक्ने सूचना दिदै आएका थियो । जुन कुराको जानकारी प्रमुख जिल्ला अधिकारी हमाल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख राणा र जेलरलाई समेत थियो ।
पाँच दिनअघि कारागारमा रहेका ५९० कैदीबन्दीले मुठभेड निम्त्याउन खोजिएको भन्दै हस्ताक्षर सहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । त्यसअघि कारागार भित्र दुई महिना कैदीबन्दीबीच भएको घट्नालाई जिल्ला प्रशासन कार्यालयले सामान्य रुपमा थामथुम पारेको थियो । ती दुईटै घट्नालाई सामान्य रुपमा लिदा कारागारमा पछिल्लो अवस्था सृजना भएको बताईएको छ ।
घाईते र मृतकका शरीरमा देखिएका घाउले झडपका क्रममा कैदीबन्दीहरुले कारागारभित्र रहेको जीम क्लवका सामानहरुको अन्धाधुन्ध प्रयोग गरेको पाईएको छ । ती सामानको दुरुपयोगबाट निम्तिन सक्ने भयावह परिणामका बारेमा कारागार प्रशासन उदासिन रहेको देखिन्छ ।
प्रहरी प्रशासनको उदासिनता र लापरबाहीका कारण कारागारमा कैदीबन्दीबीचको झडपले भयावह रुप लिएको हो ।
अहिले पनि कारागारको भित्रको अवस्थाका बारेमा कारागार प्रशासन बेखवर छ । कारागार अझै प्रहरीको नियन्त्रणभन्दा बाहिर छ । कैदीबन्दीहरुका आफन्तहरुमा यस्तै अवस्था रहीरह्यो भने कारागारभित्र भयावह अवस्था सृजना हुने सन्त्रास छ ।
तपाईको प्रतिक्रिया