सुदूरका विद्यार्थीलाई खगोल विज्ञान बुझाइरहेका अरुण

बिहीबार श्रावण ३०, २०८२/ Thursday 08-14-25
Paschim Today

 साँझपख आकाशमा चम्किने ताराले सबैको बाल्यकाल रोमाञ्चक बनाएका हुन्छन् । तिनै चम्किला तारा नियाल्दै सुनिएका दन्त्यकथाको छाप धेरैको मानसपटलमा पछिसम्म परेको हुन्छ ।

तीमध्येका एक पात्र हुन्– कैलाली टीकापुरका अरुण लोहार ।

आकाशका चम्किने ताराले बाल्यकालमा अरुणलाई खुब लोभ्याउँथ्यो, जो आज २० वर्षको उमेरमा खगोल विज्ञानको संसारमा आफ्नो नाम बनाउँदैछन् ।

सुदूरपश्चिमको गाउँमा बसेको एउटा केटोले २० वर्षकै उमेरमा अन्तर्राष्ट्रिय स्तरमा ‘एक्स्पोजर’ पाइरहेका छन् । नासाको स्पेस एप्स च्यालेन्जको नेभिगेटर, इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनको सिटिजन साइन्टिस्ट लगायतका कुरा आफैंमा लोभलाग्दा छन् ।

अरुणको पारिवारिक पृष्ठभूमि सामान्य नेपालीको झैँ साधारण छ । बुवा–आमा भारतमा काम गर्छन् । उनलाई हजुरबा–हजुरआमाले हुर्काए ।

हजुरबा शिक्षक भएकाले घरमा पढाइको माहोल थियो । सानैदेखि जिज्ञासु स्वभावका अरुण राति आँगनमा सुतेर आकाश नियाल्दा तारा देखेर मनमा कुरा खेलाउँथे ।

‘उल्टो बटुका जस्ता तारा देखिन्थे । कहिलेकाहीँ उल्कापिन्ड खसेजस्तो लाग्थ्यो । मैले हजुरबालाई सोध्थेँ, ‘यो के हो ?,’ अरुण सम्झन्छन्, ‘हजुरबाले जानेका कुरा भन्नुहुन्थ्यो । कथा सुनाउनुहुन्थ्यो । यसले मेरो मनमा थप चासो बढाउँदै लग्यो ।’

यिनै स–साना प्रश्नहरूले उनको मनमा खगोल विज्ञानप्रति चासो जाग्यो ।

अरुणको स्कुले पढाइ टीकापुर र बर्दियाका विभिन्न स्कुलमा भयो । वीरेन्द्र शिशु मन्दिरबाट सुरु भएको पढाइ बर्दियाको एडभान्स स्कुल हुँदै टीकापुरको कर्णाली माध्यमिक विद्यालयसम्म पुग्यो । कक्षा ८ मा पुग्दा साइन्स शिक्षक सुरेन्द्र शाहसँग भेटे, जसले उनको चासोलाई थप बल दियो ।

ब्रह्माण्ड कसरी बन्यो ? ताराहरू कसरी जन्मिन्छन् र मर्छन् ? अरुण लोहोर सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका विद्यार्थीलाई नि:शुल्क उल्कापिन्ड, रकेट साइन्स र स्याटेलाइट टेक्नोलोजीका कुरा बुझाउँछन्

‘हरेक शुक्रबार हामी साइन्स ल्याबमा प्रयोग गर्थ्यौं । सरले नयाँ-नयाँ कुरा सिकाउनुहुन्थ्यो । त्यहीँबाट मेरो साइन्स र टेक्नोलोजीप्रति रुचि थप बढ्यो’, उनले भने ।

सानैबाट किताबी ज्ञान मात्र हैन, व्यावहारिक प्रयोगमा जोड दिन्थे अरुण । विज्ञान–प्रविधिलाई नै जीवनको हिस्सा बनाए । कक्षा ९ मा पुग्दा उनी कर्णाली माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङको असिस्टेन्ट इन्जिनियरिङ (ओभरसियर) मा भर्ना भए । चार वर्षको यो कोर्समा साइन्स र इन्जिनियरिङको मिश्रण थियो ।

‘मलाई साइन्स र टेक्नोलोजीमा सधैँ रुचि थियो । यो कोर्समा दुवै कुरा थिए । मैले रोएरै भए पनि यो पढ्ने निर्णय गरेँ’, उनले भने ।

तर, अरुणको सपना इन्जिनियरिङमा मात्र अडिएन । रकेट साइन्स, स्याटेलाइट टेक्नोलोजी र खगोल विज्ञानतिर दौडियो । उनका अनुसार काठमाडौंमा रकेट साइन्सका पायोनियर मोहन दाइहरूको कामले सधैं प्रेरित गर्‍यो । हामीले पनि गर्न सक्छौं भन्ने लागिरह्यो । सँगसँगै आफूले जे जानेको छु, त्यो अरुलाई बाँड्नुपर्छ भन्ने भावनाको विकास गर्‍यो । यही सोचले जन्मायो- टेस्ला साइन्स सेन्टर ।

टेस्ला साइन्स सेन्टर अरुणको मिहिनेतको फल हो । तीन वर्षअघि सुरु भएको यो स्टार्टअपमार्फत उनले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका गरिब समुदायका विद्यार्थीलाई नि:शुल्क खगोल विज्ञान सिकाउँदैछन् । अहिलेसम्म करिब ७० हजार हाराहारीलाई यसबारे बुझाएको र कक्षा लिएको दाबी उनको छ ।

खगोल विज्ञानबारे जनचेतना फैलाउन उनले दुई तरिका अपनाउँछन्, लेक्चर सेसन र नाइट अब्जर्भेसन । लेक्चर सेसनमा स्कुलहरूमा गएर ४० मिनेटको कक्षा लिन्छन् । ब्रह्माण्ड कसरी बन्यो ? ताराहरू कसरी जन्मिन्छन् र मर्छन् ? यस्ता प्रश्नको जवाफ सुनाउँदै उल्कापिन्ड, रकेट साइन्स र स्याटेलाइट टेक्नोलोजीका कुरा बुझाउँछन् ।

‘हामी बच्चाको उमेर र बुझ्ने क्षमताअनुसार कक्षा बनाउँछौं । सानालाई सरल, ठूलालाई गहन तरिकाले बुझाउँछौ’, अरुणले भने ।

उनका अनुसार नाइट अब्जर्भेसन त झन् रमाइलो छ । उनी आफ्नो टेलिस्कोपले चन्द्रमा, ग्रह र ताराहरू देखाउँछन् । ‘एउटा रातमा ७००–८०० विद्यार्थीलाई अब्जर्भेसन गराउन सक्छौं,’ उनी दाबी गर्छन् । तीन वर्षमा उनले बुटवलदेखि कञ्चनपुरसम्म ७० हजारभन्दा बढी विद्यार्थीलाई खगोल विज्ञानको ‘जादु’ देखाइसकेको अरुण बताउँछन् ।

विद्यार्थीलाई सिकाउँदै अरुण ।

सबैभन्दा रोचक कुरा, यी सबै काम उनले आफ्नो पकेट खर्चबाट गर्छन् । बा–आमाले छुट्याएको पैसाले यता खर्च गर्छन्, जसलाई अहिलेको अवस्थामा आफूमाथिको लगानी गरेको उनी ठान्छन् । बुबाआमाको पनि राम्रो साथ पाएका कारण यसरी काम गर्ने हिम्मत आएको उनले बताए ।

अरुणको कथा सुदूरपश्चिममा मात्र सीमित छैन । उनले सन् २०२१ मा नासाको स्पेस एप्स च्यालेन्जमा सहभागीको रूपमा भाग लिए । यो ग्लोबल सिटिजन साइन्स प्रोजेक्टमा विश्वभरका वैज्ञानिक, प्रोग्रामर र इनोभेटरहरूले विभिन्न समस्याको समाधान प्रस्तुत गर्छन् ।

‘पहिलो पटक सहभागी हुँदा धेरै सिकेँ । पछि मैले होस्टको भूमिका निभाएँ र २०२५ को अक्टोबर ४–५ मा हुने इभेन्टका लागि नेभिगेटरको रूपमा छानिएको छु’, उनी उत्साहित सुनिए ।

नेभिगेटरको रूपमा उनी विश्वभरबाट आएका प्रोजेक्टहरूको समीक्षा गर्ने अधिकार राख्छन् । यस्तै, इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (आईएयू) र ‘एस्ट्रोनोमर्स विथआउट बोर्डर्स’मा सिटिजन साइन्टिस्टको रूपमा अनुभव बटुलेका छन् । यसको ‘हन्ड्रेस आवर्स अफ एस्ट्रोनोमी’ मा उनले ‘नोड’को जिम्मेवारी पाएका छन्, जसअन्तर्गत रहेर पनि स्कुल र समुदायमा खगोल विज्ञानका कार्यक्रमहरू चलाउँछन् ।

‘मेरो कमाइ शून्य छ । बुवाआमाले भारतबाट पठाएको पैसाले यो सब चलाइरहेको छु’, उनले सुनाए ।

त्यतिमात्र हैन, उनले प्रयोग गर्ने ल्यापटपलगायतका उपकरण विभिन्न संस्थाले दिएका हुन् । उनका जटिल प्रोजेक्टहरू (जस्तै: एस्टोरोइड हन्ट र एस्ट्रो फोटोग्राफी) का लागि अझै पनि चाहिएजस्तो उपकरण छैन ।

छिमेकीको वाइफाइबाट इन्टरनेट चलाइरहेको दाबी गर्ने उनी टेलिस्कोप पनि सजिलै नआएको बताउँछन् । ‘टेलिस्कोपको लागि मैले ३०–४० संस्थालाई मेल लेखेँ । कसैले वास्ता गरिरहेका थिएनन् । अन्त्यमा भारतीय दूतावासले जवाफ दियो र टेलिस्कोप किन्न सहयोग ग‍र्‍यो’, विभिन्न संघसंस्थालाई ‘एप्रोच’ गर्दाको कठिनाइ सुनाए । त्यो टेलिस्कोपको मूल्य ८०–९० हजार रहेको उनले सुनाए ।

त्यस्तै, अमेरिकामा बस्ने खगिन्द्र कटुवालले २५ वटा ‘सोलार ग्लास’ दिए । तर यो ग्लास आवश्यकभन्दा धेरै थियो । त्यसैले आफूले पाँचवटा मात्र राखेर आफूजस्तै नेपालभरका अरु साथीलाई बाँडिदिए ।

अरुणलाई खगोल विज्ञानसँगै एस्ट्रो फोटोग्राफीमा पनि सोख छ । मोबाइल र टेलिस्कोपले तारा र ग्रहहरूको तस्वीर खिच्छ । भविष्यमा यसलाई अझ व्यवस्थित गर्दै जाने उनले बताए । उनले देखेको ठूलो सपना भनेको टेस्ला साइन्स सेन्टरलाई बलियो बनाउनु र खगोल विज्ञानमा अनुसन्धान गर्नु हो ।

हालै अरुणले ‘नेसनल युथ साइन्स इनिसिएटिभ’ सुरु गरेका छन्, जसमा खगोल विज्ञान, आईओटी, कृषि र प्रोग्रामिङ समावेश छन् । ‘यो मेरो ड्रिम प्रोजेक्ट हो । यसले आफूसँगैको नयाँ पुस्तालाई नयाँ कुरा सिकाउने, नयाँ सोच बनाउने र नयाँ सपना देख्न सघाउँछ भन्ने अपेक्षा हो,’ उनले भने ।

प्रभाव कत्तिको परेको छ त ? अरुण भन्छन्, एकपटक टीकापुरको ‘नयाँ नेपाल मम पसल’मा खाना खान गएको थिएँ । कुकले चिनेर भन्नुभयो, ‘तपाईंको प्रोग्राममा गएपछि मेरो छोरा युट्युबमा साइन्सका भिडियो हेर्छ । टेलिस्कोप चाहिन्छ भन्छ ।’ यसरी कसैले सोच्ने र हेर्ने कुरामै परिवर्तन ल्याउनु आफैँमा राम्रो कुरा हो जस्तो लाग्छ । 

अनलाइन खबरबाट