टप इन्ड सिरिजलगत्तै नेपालले अस्ट्रेलियामै अर्को शृंखला खेल्ने

बिहीबार श्रावण ३०, २०८२/ Thursday 08-14-25
Paschim Today

काठ्माण्डौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमणका क्रममा टप इन्ड सिरिजका अतिरिक्त अर्को एउटा शृंखला पनि खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, आईसीसी पुरुष टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीकै क्रममा नेपालले यो शृंखला खेल्न लागेको हो ।

टप इन्ड सिरिज अगस्त १४ देखि २४ तारिखसम्म अस्ट्रेलियामा आयोजना हुँदैछ । उक्त शृंखला सकिएलगत्तै नेपाली टोली अर्को शृंखलामा सहभागी हुनेछ । दोस्रो शृंखलामा नेपाली टोलीले कुल पाँच खेल खेल्नेछ ।

उक्त शृंखलामा नेपाली टोलीले क्रिकेट एसीटीसँग अगस्त २६ तारिखमा पहिलो खेल खेल्नेछ । सोही दिन नेपाली टोलीले आफ्नो दोस्रो खेल पनि क्रिकेट एसीटीसँगै खेल्नेछ । अगस्त २८ तारिखमा नेपाली टोलीले साउथ अस्ट्रेलियासँग तेस्रो खेल खेल्नेछ ।

सोही दिन नेपाली टोलीले आफ्नो चौथो खेल पनि साउथ अस्ट्रेलियासँगै खेल्नेछ । नेपाली टोलीले आफ्नो पाँचौँ तथा अन्तिम खेल पनि अगस्त ३० तारिखमा साउथ अस्ट्रेलियासँगै खेल्ने क्यानले जनाएको छ ।

यो शृंखलाअघि नेपाली टोली अस्ट्रेलियामै टप इन्ड सिरिज खेल्नेछ । टप इन्ड सिरिजमा नेपालले आफ्नो पहिलो खेल अगस्त १५ तारिखमा एनटी स्ट्राइकसँग खेल्नेछ । उक्त शृंखलामा नेपाली टोलीले आफ्नो दोस्रो खेल १६ तारिखमा बंगलादेशको ‘ए’ टोलीसँग खेल्नेछ ।

यसैगरी, नेपाली टोलीले आफ्नो तेस्रो खेल अगस्त १८ तारिखमा स्टार्ससँग र चौथो खेल १९ तारिखमा हरिकन्ससँग खेल्नेछ । नेपालले अगस्त २० तारिखमा रेनगेड्ससँग पाँचौँ र २२ तारिखमा पाकिस्तान ‘ए’ सँग छैटौँ खेल खेल्नेछ ।

नेपाली टोलीले यी दुबै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेल्न लागेको हो । एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

छनोट प्रतियोगितामा नेपालसहित नौ टोली सहभागी हुनेछन् । नेपाल, जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’ मा छन् । मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवा न्यू गिनी र समाओ रहेका छन् ।

अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट तीनवटा टोली आगामी टी–२० विश्वकपमा पुग्नेछन् । आगामी टी–२० विश्वकप सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।