एमसीसीको सहयोगमा बन्ने विद्युत् प्रसारण लाइन निर्माणका लागि सम्झौता

काठमाडौं : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा बन्ने दुई खण्डको ठेक्कामा सम्झौता भएको छ। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले बिहीबार विज्ञप्ति जारी गर्दै १५.४५ करोड डलरको विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गरेर पुनः सक्रिय भएको जनाएको हो।
एमसीसीअन्तर्गत निर्माण हुने २९७ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनमध्ये दुई खण्ड निर्माणका लागि सम्झौतामा हस्ताक्षर भएको एमसिए–नेपालले जनाएको छ।
एमसिए नेपालले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एन्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरेको जनाएको छ।
एमसिए–नेपालका अनुसार संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेका सम्झौताअन्तर्गत १८० किमि लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलगायतका काम गरिनेछ।
‘यी सम्झौतामा हस्ताक्षर गरी एमसीसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यहरूमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुनः पुष्टि गरेको छ’, एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले भने, ‘नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआवद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरूसँग मिलेर काम गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ।’
सम्झौताले नेपालमा विद्युत् प्रसारण पूर्वाधार सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने एमसीए–नेपालले जनाएको छ।
तपाईको प्रतिक्रिया