‘मिलियन भ्युज’ भारतभन्दा पहिले नेपालमा रिलिज हुने

बिहीबार श्रावण ३०, २०८२/ Thursday 08-14-25
Paschim Today

पोखरा- हिन्दी फिल्म ‘मिलियन भ्युज’ भारतभन्दा पहिले नेपालमा प्रदर्शन हुने भएको छ। आगामी १२ सेप्टेम्बरमा नेपालका अधिकांश हलमा एकैपल्ट प्रदर्शन तयारी छ। त्यसका लागि फिल्म यूनिटले नेपालमा प्रचारप्रसार सुरु गरिसकेको छ।

बिहीबार पोखरामा पत्रकारहरूसँग कुराकानीमा नेपालका लागि डिष्ट्रिब्यूटर केदार पराजुलीले फिल्मको कथावस्तु मन परेर यहाँ ल्याउन लागिएको बताए। उनले भने, ‘भारत गएको बेला यो फिल्म हेरेँ, कथाबस्तु राम्रो लाग्यो र नेपालमै रिलिज तयारी गरिएको हो।’

भारतमा सेन्सरका लागि लामो समय पालो कुर्नुपर्ने भएकाले नेपालमा पहिले प्रदर्शन गर्ने तयारीमा फिल्म यूनिट छ। फिल्मका वर्ल्डवाइड डिष्ट्रिब्यूटर विकासकुमार राजपुत सिंहले ‘त्यहाँ क्यूमा छ, तर कहिले सेन्सर पास हुन्छ भन्न सकिँदैन, नेपाल आफूलाई पनि मनपर्ने र उहाँ (केदार) सँग कुराकानीपछि नेपालमा रिलिज तयारी गरिएको हो।’

नेपालका लागि भने सेन्सरमा धेरै समय लाग्दैन। वर्ल्डवाइड डिष्ट्रिब्यूटर विकासले फिल्म मनोवैज्ञानिक थ्रिलर भएको बताए। ब्ल्याक वेबको भयावह गहिराइमा आधारित भारतीय थ्रिलर ‘मिलियन भ्युज’ ले २५ वर्षीया दृढ इच्छाशक्ति र आत्मसम्मान बोकेकी युवतीको जीवन–मरणको संघर्षलाई पर्दामा उतारेको उनको भनाइ छ। उनले भने, ‘आशा छ, नेपाली दर्शकले रुचाउनुहुनेछ।’

थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका अंशुल सिंन्हाले फिल्म निर्देशन एवं निर्माण गरेका हुन्। कथा पनि उनै आफैँले लेखेका हुन्। फिल्ममा सिद्धि जयसवाल र सोहनको मुख्य अभिनय छ। त्यस्तै, प्रवीन सहायक भूमिकामा देखिएका छन्।

फिल्ममा युवतीको आत्मसम्मान विषयलाई प्रभावकारी रूपमा उठाइएको जनाइएको छ। ९० मिनेटभित्र १० लाख भ्यूज हासिल गर्न वा आफ्नी साथीको ज्यान गुमाउनुपर्ने कठोर अल्टिमेटम विषयलाई आत्मसम्मान जोगाउने संकल्पसँग सिनेमामा जोडिएको विकासकुमारले बताए।

मार्केटिङ बासुदेव सिंहले फिल्म करिब १२ करोड लागतमा निर्माण भएको बताए। उनका अनुसार नेपालका सयभन्दा बढी हलमा रिलिज गर्ने तयारी छ। रिलिजअघि ८ सेप्टेम्बरमा कलाकारसहित काठमाडौँमा प्रमोसन साँझ हुने र पछि फेरि पोखरा, बुटवल, चितवन सहरमा जाने निर्माण पक्षले जनायो।

आउटपुट मिडियाको ब्यानरमा निर्माण भएको फिल्म करिब २ घण्टा लामो छ। कार्यक्रममा ‘नालापानी’ फिल्म निर्देशक रिमेश अधिकारीले पनि फिल्मको कथावस्तु नेपाल र भारत दुवैको सामाजिक पृष्ठभूमिसँग मेल खाने बताए।