समुदायका लागि साँचेका काजीका सपना

मंगलबार भदौ ३, २०८२/ Tuesday 08-19-25
Paschim Today

पश्चिम टुडे टीम ।

एउटा भनाई छ, तिम्रो पहिचान तिम्रो सबैभन्दा मूल्यवान सम्पत्ति हो । यसको रक्षा गर ।

थाँतथलो छोडेको वर्षौसम्म उनी छाक टार्ने समस्यामा अलमलिए । एक समयपछि उनलाई लाग्यो, अव समुदायका लागि बाँच्नुपर्छ ।

उनले ठाने, पहिचान छैन् त अस्तित्व छैन् । काजी शेर्पा उमेरले ६३ पुगे । जीवनको उत्तराद्र्धमा त्यही सोचले उनी शेर्पा जातीको पहिचान संरक्षणमा जुटेका छन् ।

यतिबेला कोलोराडोको डेनभर उनको स्थायी मुकाम हो । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका –५ सेर्गामा सन्, १९६२ मा जन्मिएका काजीको पुरै जीवन प्रवासमा बित्यो ।

उनका बुवा गोम्बु शेर्पा र आमा पसी शेर्पा खेतीकिसानी गर्थे । शेर्पा दम्पत्तीका पाँच छोरा र दुई छोरी छन् । काजी माहिला हुन् ।

उनका बुवा चौरी पाल्थे । खेतीपातीले छाक टार्न समस्या भयो । जीविका नचलेपछि चौरी बेचे । र, उनका बुवा आमा कामको खोजीमा सिक्किम पुगे ।
चार वर्षको हुदा उनलाई बुवाले सिक्किम लगे । मजदुरी गरेर बुवाले लिङ्थम प्राईमेरी स्कुल पढाए । चार कक्षापछि चुज्याचन सिनियर सेकेण्डरी स्कुलमा भर्ना भए । एसएलसी दिए, टासी नामग्याल सिनियर सेकेण्डरी गन्तोकबाट ।

१९ वर्षपछि गाउँ फर्किए । उनी २३ वर्षका थिए । गाउँमा पढाउन थाले । एक वर्ष चेल्सा निमाविमा पढाए । उनले नेपालको शिक्षा बुझेका थिएनन् । समाज बुझेका थिएनन् । राजनीति त कालो अक्षर भैसी बराबर । यो सबै बुझ्न उनलाई वर्षदिन लाग्यो । जब सबै बुझे, तव उनलाई लाग्यो, जिन्दगी व्यर्थ नबितोस ।

उनी काठमाण्डौं पुगे । आफन्त र साथीहरु पर्वतारोहण व्यवसायमा संलग्न थिए । मामाको साथ पाएर उनी जापानीज ग्रुपसंग जोडिए । र, पर्वतारोहणमा गए । उनी एसिसटेण्ट शेर्पाको भूमिकामा थिए । उनी टीमको व्यवस्थापन हेर्थे । आरोहण दलको सहयोगीका रुपमा ७० जनाभन्दा बढि भरिया थिए ।

पहिलो पटक अन्नपूर्ण सर्किट गए । पोखरा हुदै घोरेपानीको ट्रेक गरे । टे«किङको पहिलो जिम्मेवारीबाट उनी उत्साही भए । १९८४ र ८५ मा सगरमाथाको आधार शिविर पुगे ।

उनको अंग्रेजी भाषामा दख्खल थियो । व्यवस्थापकीय क्षमतामा उनी छोटो समयमै अब्बल भए । यी दुईटै कुराले काठमाण्डौंको विभिन्न टे«किङ कम्पनीसंग उनको सम्बन्ध विस्तार भयो । उनी फुर्सदमा पुस्तक पसल जान्थे । पर्यटन र टे«किङका बारेमा पढ्थे । हिमालमा उनको औंधी चासो थियो । त्योसंगै धर्म, संस्कृति, आर्थिक अवस्थाको अध्ययन गर्थे ।

उनी त्यही ज्ञान पर्वतारोहीलाई बाड्थे । पर्वतारोहणका क्रममा क्याम्पमा बस्दा त्यहाँको ईतिहास सुनाउथे । जानकारीमूलक सूचना पाएर पर्वतारोही दंग पर्थे । उनको कामबाट कम्पनीका सञ्चालक प्रभावित भए । उनको छोटो समयमै पदोन्नतीसंगै पारिश्रमिक थपिदै गयो । तीन वर्ष पर्वतारोहणका क्षेत्रमा काम गरेपछि संयोगले उनको भेट नारायण श्रेष्ठसंग भयो । त्यहीबीचमा श्रेष्ठकी बहिनी शान्ति र भाई श्यामलाई भेटे । श्रेष्ठ उनको कामबाट प्रभावित भए । र, सहकार्यको प्रस्ताव गरे । श्रेष्ठ अमेरिकाको कोलोराडोमा टे«किङ कम्पनी चलाउथे । श्रेष्ठले अमेरिकाबाट पर्वतारोहीको टीम पठाउथे । त्यसको व्यवस्थापकीय जिम्मेवारी उनको थियो । उनले कोलोराडोबाट आएका १३÷१४ वटा समूहलाई टे«किङमा लगे । बिधिन्न टे«किङ रुटसंगै संखुवासभाको दुर्गम खेम्पालुङ पुगे ।

टे«किङमा अमेरिकाबाट चिकित्सकका साथै धनाढ्यहरु पनि आएका थिए । पर्वतारोहणका क्रममा विश्वास जितेका उनलाई तिनै पर्वरोहीहरुले अमेरिकाबाट निमन्त्रणा पठाए । उनीसंग टिकट काट्ने पैसा थिएन । टिकटका लागि पनि उनीहरुले अमेरिकाबाट ५० हजार पठाई दिए । र, त्यही टिकटमा उनी १९९९ को जुनमा अमेरिका पुगे ।

छ महिनाको भीसामा अमेरिका आएका उनी नेपाल फर्किएनन् । स्टुडेण्ट भीसामा उनको बसाई लम्बियो । पढाईले बाँच्न सकिदैनथ्यो । काम गर्नै पथ्र्यो । उनी रेष्टुरेण्टमा काम गर्न थाले । किचेन हेल्परबाट काम शुरु गरेका उनी केही महिनापछि सेफ भए । त्यसपछि व्यवस्थापकीय जिम्मेवारी पाए ।

त्यहाँबाट उनी क्यालिफोर्निया गए । तीन वर्ष गाडीको पार्टस् एण्ड प्रोडक्सनमा काम गरे ।क्यालिफोर्नियामा उनको एक युवतीसंग भेट भयो । उनीहरुको त्यो भेट सम्बन्ध प्रेममा परिणत भयो । र, केही समयपछि उनीहरुले विवाह गरे । त्यहाँबाट उनीहरु फर्किएर कोलोराडोको एसपेन माउण्टेन पुगे । केही समय स्कि कम्पनीमा काम गरे । त्यसपछि तीन वर्ष रेष्टुरेण्टमा काम गरे । उनलाई लाग्यो, अरुका लागि काम गरेर जीवन खेर जाने भयो ।

उनले सोचे, अव आफ्नै लागि काम गर्नुपर्छ । त्यही सोचले उनले १९८४ मा कोलोराडो स्प्रिरिङ गिफ्ट शप शुरु गरे । नेपाल, तिब्बत, भारतबाट सामान ल्याएर गिफ्ट शप चलाए । त्यहीबीचमा एक लाख ५० हजारको लगानीमा रेष्टुरेण्ट व्यवसायमा हात हाले । ७÷८ वर्षसम्म दुईटै व्यवसाय चलाए ।
बाहिरबाट हेर्नेलाई लाग्छ, अमेरिकामा डलर फल्छ । तर अमेरिकामा पुगेपछि थाह हुन्छ, एक डलरको महत्व । सेकेण्ड र घण्टा कति महत्वपूर्ण छन्, त्यो पनि थाह हुन्छ ।

उनी दैनिक १२ देखि १४ घण्टा खट्थे । दुईटै व्यवसाय पति पत्नी मिलेर चलाएका थिए । भान्छा देखि काउण्टरसम्म आफै हेर्थे । रेष्टुरेण्ट व्यवसायसंग उनीहरुको मोह भंग भयो । दुईटै भने, भो पुग्यो । उनकी पत्नीले हाउस किपिङको काम गर्न थालिन् ।

उनले निर्माण कम्पनीमा काम थाले । उनी सुपरीटेण्डेण्ट भूमिकामा थिए । कम्पनी टाट पल्ट्यो । चार वर्षपछि उनी बेरोजगार भए ।

उनले प्रोपर्टी म्यानेजमेण्टमा हात हाले । कोलोराडोको बेलमा अमेरिकाका बिभिन्न राज्यका अर्वपतिहरुका भ्याकेसन घरहरु छन् । उनी ती घरहरुको व्यवस्थापन हेर्न थाले ।

घरमा केही न केही समस्या आईरहन्छन् । कहिले धारा बिग्रिन्छ । कहिले एसी । कहिले बत्तिको समस्या हुन्छ । कहिले घरको छाना चुहिने हुन्छ । घरको पेन्ट पुरानो हुन्छ । उनले ती समस्याका बारेमा घरधनीलाई जानकारी दिन्छन् । र, घरधनीको अनुमतीमा घरमा आवश्यक मर्मत संभारको काम गर्छन् । एक घरबाट शुरु गरेको प्रोपर्टी म्यानेजमेण्टमा यतिबेला १५ घर छन् ।

हाउस किपिङको काम गर्ने पत्नीको सम्पर्कबाट पनि घरधनीहरु थपिए । उनले प्रोपर्टी म्यानेजमेण्टको काम थपिदै गयो ।

रेष्टुरेण्टमा हप्ताभरी काम गर्नुपथ्र्यो । त्यो पनि दैनिक १० देखि १४ घण्टासम्म । फुर्सद नमिल्ने । प्रोपर्टी म्यानेजमेण्टमा कामको बोझ कम भयो । हप्तामा बढिमा तीन÷चार दिन काम गर्दा हुने । आम्दानी पनि राम्रो ।

उनीहरुले त्यही कमाईबाट दुई छोरीलाई हुर्र्काए । पढाए । जेठी छोरी तेञ्जिङ डोल्मा शेर्पा कोलम्बिया युनिभर्सिटीमा न्यूरो साईन्समा मास्टर्स गर्दैछिन् । कान्छी छोरी शेरेन डोका शेर्पा, मनोविज्ञानमा स्नातक गर्दैछिन् ।

काजी, जसको शीरमा सगरमाथा छ । हृदयमा नेपाल । मनमा साँचेका छन्, समुदायका सपना । र, त व्यक्तिगत सपना र स्वार्थलाई पर छोडेर, समुदायका लागि बाँचेका छन्, उनी । नेपालबाट आउने अलपत्र पर्नेहरुलाई आश्रय दिन्छन् ।

जिन्दगीमा उनले भोक झेले । अभाव बेहोरे । बाल्यबय आफ्नो आँगनमा बिताउन पाएनन् । मजदुरी गर्दै जहाँ पुग्थे बुवा, त्यही उनको घर हुन्थ्यो । उनका लागि स्कुल होईन, बुवाको संघर्ष सबैभन्दा ठूलो पाठशाला थियो । बुवाको त्यो संघर्ष, उनका लागि विश्वविद्यालयको सर्टिफिकेटभन्दा ठूलो ज्ञान थियो । त्यो ज्ञानको सार थियो, जीवनमा जस्तो सुकै समस्या आए पनि बिचलित नहुनु । संघर्ष गर्न नछाड्नु ।

उनमा यी गुणहरु बुवाबाट ट्रान्सफर भएका हुन् । छोरीहरुले त्यो जीवन बाँच्नु नपरोस, जो उनी र उनका बुवाले बाँचे । त्यसैका लागि उनी र उनकी पत्नीले आफ्ना व्यक्तिगत आकांक्षा र सपनाहरुलाई थाँती राखेर छोरीहरुको सुखद भविश्यका लागि ऐया नभनेर खटिरहे अहोरात्र ।

उनी सहयोगी छन् । मनकारी पनि । अप्ठ्यारोमा परेका नेपालीहरुलाई सधै साथ दिदै आएका छन् । कुनै समय नेपालबाट आउने शेर्पाहरुका लागि उनको घर धर्मशाला जस्तै थियो । उनी बिमानस्थलबाट ल्याएर आउथे । उनीहरुका लागि काम खोज्थे । काम नपाउदा घरमै राख्थे ।

उनलाई जति माया आफ्ना सन्तानको छ । त्यति नै माया आफ्नो भाषा, धर्म, संस्कृति र पहिचानलाई गर्छन् । भाषा र संस्कृति लोप हुने चिन्ता उत्तिकै छ । त्यसैले त उनी घरमा छोरीहरुसंगै शेर्पा भाषामै बोल्छन् । भाषा र संस्कृति पुस्तान्तरण जरुरी ठान्छन्, उनी ।

पछिल्लो समय उनी शेर्पा समुदायको भाषा, संस्कृति र पहिचान जोगाउने अभियानको नेतृत्व गरिरहेका छन् । उनकै नेतृत्वमा रहेको युनाईटेड शेर्पा एशोसियसन अफ कोलोराडोले गोल्डेनमा शेर्पा समुदायको सांस्कृतिक केन्द्र स्थापना गर्ने अभियानलाई तिब्रता दिएको छ । जसमा शेर्पा समुदायका मनकारी व्यक्तिहरुले खुलेर आर्थिक सहयोग गरिरहेका छन् । र, सहयोग गर्नेहरुमा विदेशीहरु पनि छन् । यो उनको नेतृत्वप्रति र युनाईटेड शेर्पा एशोसियसन अफ कोलोराडो प्रतिको विश्वास हो ।

कोलोराडोमा ५०० जना बढि छन्, शेर्पा । उनीहरुलाई एउटै छानामुनी गोलबद्ध उनको प्रयास छ । शेर्पाहरुको सांस्कृतिक केन्द्रलाई साझा थलो बनाउने अभियानमा उनको टीमका साथीहरुले त सहयोग गरिरहेकै छन्, अन्य व्यक्तिहरुले स्वफूर्त रुपमा साथ दिएका छन् । त्यस्तो थलो, जहाँ विशाल गुम्बा हुनेछ, र घुमिरहने छ, माने । जहाँ गुञ्जिरहनेछ, ओम् मणि पद्मे हुँ । सांस्कृतिक केन्द्र स्थापनाका लागि गोल्डेनमा जग्गा जोडिसकेका छन् । अव छिट्टै निर्माणको कार्य अघि बढ्ने छ ।

उनले चार पुस्ता देखे । हजुर बा । बा । आफ्नो । सन्तानको पुस्ता । हजुरबाको पुस्ताले हरेक दिन शेर्पाको टोपी लगाउथ्यो । शेर्पाको पहिरन लगाउथ्यो । त्यो पुस्ता आफ्नै भाषा बोल्थ्यो । बुवा कामका लागि भारत गए । बाको टोपी छुट्यो । पहिरन छुट्यो । भाषा पनि कमजोर हुदै गयो । हजुरबाका ३० प्रतिशत चालचलन बाको पुस्ताले बिस्र्यो । उनी परदेशमै हुर्किए । युवावयमा घर फर्किएका उनी केही वर्षपछि अमेरिका भासिए । उनले ५० प्रतिशत चालचलन बिर्सिए । सन्तानले पुरै चालचलन भोग्नै पाएन् । अमेरिकी संस्कृतिमा बाँचिरहेका छोरीहरुले भाषा र संस्कार पुरै बिर्सिने त होईनन्, उनमा गहिरो चिन्ता छ । भन्छन्, भाषा सकिए हामी आधा सकिन्छौ । संस्कार सकिए, पुरै । पहिचान बिना हामी अस्तित्व विहीन हुन्छौ । अमेरिकामा हामी पहिचानका लागि संघर्ष गरिरहेका छौ । उनले कुराकानीलाई बीट मार्दै भने, सांस्कृतिक केन्द्रको स्थापना त्यही सोचको उपज हो ।