रविलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

बुधबार भदौ ४, २०८२/ Wednesday 08-20-25
Paschim Today

काठ्माण्डौँ- माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् । लामिछानेलाई भेट्न प्रचण्ड आज (सोमबार) साँझ ६ बजे नख्खु कारागार पुग्ने जनाइएको छ । 

आफू प्रधानमन्त्री हुँदा प्रचण्डले रविलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएका थिए । त्यतिबेला रविमाथि लागेका आरोपहरू निस्तेज पार्न प्रचण्डले भूमिका खेलेका थिए । अहिले पनि प्रचण्डले रविमाथि षड्यन्त्र भएको बताउँदै आएका छन् । 

सत्तापक्षले हिजो उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने तयारी गरेको थियो । त्यसपछि प्रचण्डले विपक्षी दलहरूको बैठक राखेका थिए । विपक्षी दलहरूको बैठकले उपसभामुख हटाउने सत्तापक्षको प्रयासलाई विफल पारी यो मुद्दालाई जनतासम्म लैजानुपर्ने निष्कर्ष निकालेको थियो । त्यसको दोस्रो दिन प्रचण्ड रविलाई भेट्न कारागारमै जान थालेका विषयलाई चासोका साथ हेरिएको छ ।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गत शनिबार मात्रै रुपन्देही कारागारबाट नख्खु कारागार सारिएको थियो । उनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको टोलीले जेलमै पुगेर जाँच गरेको थियो । स्वास्थ्य परीक्षण गर्दा उनको शरीरमा भिटामिन डीको कमी रहेको पाइएको चिकित्सकहरूले बताएका छन् ।