संघीय सरकारले आधारभूत अस्पताल सञ्चालनका लागि एक करोड अनुदान दिने

डोटी । स्थानीय तहका आधारभूत अस्पतालहरू सञ्चालनका लागि संघीय सरकारले मेडिकल अधिकृतसहित एक करोड रुपैयाँ अनुदान दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भवन निर्माण भई भाद्र मसान्तभित्र हस्तान्तरण भइसकेका स्थानीय तहमा मन्त्रालयले सो अनुदान उपलब्ध गराउने बताएका हुन् ।
शुक्रवार प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘स्थानीय तहमा सञ्चालन हुने आधारभूत अस्पतालहरूमा व्यवस्थित प्रयोगशाला निर्माण गर्नका लागि विश्व स्वास्थ्य संगठनलाई प्रस्ताव गरिएको छ । विश्व स्वास्थ्य संगठन सकारात्मक रहेको छ । त्यो भयो भने आधारभूत अस्पतालमा व्यवस्थित प्रयोगशाला स्थापना हुनेछ ।’
मन्त्री पौडेलले निर्माण सम्पन्न भई नसकेका भवनहरूलाई सम्पन्न गराउन ६० प्रतिशत स्थानीय तह आफै र ४० प्रतिशत संघीय सरकारले व्यहोर्ने गरी अर्थ मन्त्रालयलाई प्रस्ताव गरिएको जानकारी दिए ।
उनले भने ‘अहिलेसम्म आधारभूत अस्पताल निर्माणको सुरुवातै नभएका, जग्गा नै प्राप्त गर्न नसकेका स्थानीय तहको हकमा अर्थ मन्त्रालयले तीनवटा पालिकाको पायक पर्ने ठाउँमा एउटा अस्पताल निर्माण गर्ने गरी नक्साङ्कन गरेर ल्याउनु भनेको छ, तर त्यस्तो परिस्थिति सबै ठाउँमा नहुन सक्छ । सम्भव भएका ठाउँमा सोही अनुसार गर्न सकिन्छ ।’
उनले तीन सय ९६ पालिकामा आधारभूत अस्पताल बनिसकेको उल्लेख गर्दै नेपालका सात सय ५३ पालिका बराबर भएकाले कतै बन्ने, कतै नबन्ने अवस्था हुन नहुने बताए । आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि स्थानीय तहहरूले प्रदेश र संघसंग समन्वय सहकार्य गरेर काम गर्नु जरुरी रहेको पौडेल बताउँछन् ।
स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिका सबै डाक्टरहरू प्रदेशमा पठाउने गरेको उल्लेख गर्दै मन्त्री पौडेलले प्रदेशले पनि उपलब्ध डाक्टरहरूलाई सबै पालिकामा पठाउन आवश्यक रहेको बताए । उनले जीर्ण भएका स्वास्थ्य चौकीका भवनहरूको मर्मत तथा पुनर्निर्माण हुनु जरुरी रहेको बताए ।
पालिकाले २५ करोड खर्च गरेर प्रशासनिक भवन बनाउन सक्ने तर दुई करोड खर्च गरेर अस्पतालको भवन नसक्ने भन्ने कुरा नमिलेको उनको भनाई छ । उनले कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा अनिवार्य लगानी गर्न स्थानीय तहहरूलाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया