धेरैले बिर्सिएको हुलाक, हुलाकले नबिर्सिएको कर्म

शनिबार भदौ ७, २०८२/ Saturday 08-23-25
Paschim Today

धनगढी, ७ भदौ ।,
एक समय थियो, गाउँमा हल्कारा अर्थात ‘हुलाकी दाई’ को उपस्थितिले सबैको ध्यान आकर्षित हुन्थ्यो । ‘हुलाकी दाई’ ले परदेशिएका पति/पिता/छोरा को सन्देश लिएर आउँथे । ‘हुलाकी दाई’ ले चिठी छोडेर गएपछि पढ्ने व्यक्तिको खोजी शुरु हुन्थ्यो । चिठी पढ्न सक्ने मान्छेको बेग्लै रवाफ हुन्थ्यो । उनले चिठी पढिरहदा, छेउमा बसेर सबैले सुन्थे । खुशीको खवर भए, गाउँमा उत्साह छाउथ्यो । दुःखको खवर भए गाउँ नै शोकमा डुब्थ्यो ।

बिशुँ र दशैंमा परदेशबाट घर आउन नपाएको प्रियजनको हालचाल त्यही चिठी सुनेर परिवारजनले थाह पाउँथे । र, ढुक्क हुन्थे । 

त्यो समय ‘हुलाकी दाई’ को बाटो कुरेर बस्थे, मान्छेहरु । सूचनाको भरपर्दो एउटै माध्यम थियो, हुलाक । पत्र ल्याएर आउने हल्कारालाई सबैले ‘हुलाकी दाई’ भन्थे ।
७८ वर्षीय रंगलाल उपाध्याय आज पनि हुलाकको सम्झनामा भावुक हुन्छन् ।

‘दाजुहरुले भारतबाट चिठी पठाउँथे । धनगढी हुदै सिलगढी र त्यहाँबाट सायल चिठी पुग्न दुई महिना लाग्थ्यो । चिठीले घर आँगन उज्यालो हुन्थ्यो,’ उपाध्यायले हुलाक र चिठीको मिठो स्मृति सुनाए ।

२०३४ सालमा आमाको निधन भएको खबर उनले आकाशवाणीबाट सुने । ‘त्यो खबर सुनेर पाँच दिन हिंडेर डोटी पुगेको थिएँ,’ उनी सम्झिन्छन् ।

त्यो समय खवर आदान प्रदान गर्ने हुलाक बाहेक अर्को माध्यम पनि थिएन । चिठीका लागि मान्छेहरु ‘हुलाकी दाई’ को बाटो कुरी बस्थे । 

सूचना प्रविधिको विकासले खवर आदानप्रदान गर्ने माध्यम बद्लियो । हुलाक माथिको निर्भरता घट्दै गयो । मान्छेहरुले ‘हुलाकी दाई’ को बाटो कुर्न छोडे । 

सामाजिक सञ्जालसंगै हुर्किएको ‘जेन जी’ पुस्ताले चिठीको युग अनुभव गर्न पाएन् । यो पुस्ता ग्याजेट र एन्ड्रोईड मोवाईलसंगै हुर्कियो । चिठी पठाउने उमेर नहुदै यो पुस्ता मेसेञ्जर र ह्याट्स एपमा  सन्देश आदान प्रदानमा व्यस्त हुन थाल्यो । योसंगै हुलाकबाट व्यक्तिगत चिठी पठाउने घटे । 

‘पूज्यनीय पिता साष्टाङ्ग दण्डवत ढोग छ’, यसरी शुरु हुने चिठीको ढाँचामा अहिलेको पुस्ताले न त आफूभन्दा टाढा रहेका बुवालाई पत्र लेखेको छ । न त उसलाई हुलाकको त्यो युगको स्मरण छ ।

हुलाक निर्देशनालय कैलालीका निर्देशक गोविन्द प्रसाद पाण्डेयका भनाईमा ‘व्यक्तिगत चिठी घटेको भए पनि हुलाकको काम झन् बढेको छ ।’ भन्छन्, ‘सरकारका पत्र, बैंक तथा वित्तीय संस्थाका कागजात, अदालतका नोटिस, पार्सल, विज्ञापन वितरण जस्ता जिम्मेवारी थपिएका छन् ।’

पाण्डेयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा हुलाक मार्फत कैलालीमा ६५,९५८ वस्तु आदान प्रदान भए । जसबाट ६६ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भयो ।

सुदूरपश्चिममा दैनिक १,५०० चिठी आदान प्रदान हुने गरेको हुलाकको तथ्यांकले देखाउछ । धनगढीस्थित हुलाक निर्देशनालयबाट दैनिक सबैभन्दा बढि ४०० चिठी पठाउने गरिएको छ ।

नेपालमा हुलाकको ईतिहास

नेपालमा हुलाक सेवा वि.सं. १९३५ मा ‘नेपाल हुलाक घर’को नामबाट सुरु भएको हो । सन् १९५६ मा नेपालले विश्व हुलाक सङ्घको सदस्यता लिएपछि अन्तर्राष्ट्रिय स्तरमा हुलाक सेवा थप व्यवस्थित बन्यो । सन १८७४ मा स्थापना भएको यो सङ्घ संयुक्त राष्ट्र सङ्घको विशेषीकृत निकाय हो ।

‘अतिरिक्त हुलाक नियमावली’ आइसकेपछि ५८ वर्षे उमेर हदबन्दीका कारण उमेर पुगेका कर्मचारीको अनिवार्य अवकाशसंगै अतिरिक्त हुलाकहरू पनि खारेज भए । त्यो संगै हुलाक संगठनको पुनर्संरचना भयो । ‘अतिरिक्त हुलाक नियमावली’ आउनुपूर्व हुलाक सेवा विभागको देशभर १७ हजार दरबन्दी थियो । त्यसमध्ये सात हजार निजामती र झन्डै १० हजार भन्दा बढी अतिरिक्त हुलाक तर्फका कर्मचारी  थिए ।

हुलाक सेवा विभागका निर्देशक एवम सूचना अधिकारी ध्रुवराज आचार्यका अनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ७४ अतिरिक्त हुलाक, ८४२ इलाका हुलाक, ७० जिल्ला हुलाक, चार हुलाक निर्देशनालय र एउटा गोश्वारा हुलाक गरी झन्डै चार हजार कार्यालय थिए । 

हाल ६ निर्देशनालय, ७० जिल्ला हुलाक एक गोश्वारा गरी ७७ हुलाक कार्यालय छन् । देशैभर ७७ जिल्ला हुलाक र हुलाक निर्देशनालयका साथै ६७६ स्थानीय हुलाक कार्यालय गरी पुनर्संरचनापछि ७५३ हुलाक कार्यालय छन् । जसमा साढे ४६ सयको हाराहारीमा कर्मचारी दरवन्दी छ । 

आर्थिक वर्ष २०८०/८१ को बजेटले सरकारले जिल्ला, इलाका र अतिरिक्त हुलाक कार्यालयहरु खारेज गर्ने र प्रत्येक स्थानीय तहमा हुलाक कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो । यही घोषणा अनुसार जिल्ला र इलाका हुलाक कार्यालय सहित हुलाक निर्देशनालयहरुको पुनर्संरचना गर्दै स्थायी दरबन्दीको पुनरावलोकन गरेको थियो । 

सूचना प्रविधिको युग शुरु हुदै थियो । त्यहीबीच २०५५ सालपछि निजी क्षेत्रले कुरियर सेवा चलाउने अनुमति पायो । हुलाकभन्दा शुल्क धेरै लिए पनि छरितो र विश्वसनीय सेवाका कारण निजी कुरियर तर्फ आकर्षण बढ्न थाल्यो । एकातिर व्यक्तिगत चिठीहरु आदान प्रदान हुन छाडे । अर्कोतिर निजी संस्थाहरुले आफ्ना कागजात पठाउन कुरियर रोज्न थाले ।

उनीहरूले छिटो, सुरक्षित, ट्रयाकिङ सुविधा, होम डेलिभरी र ‘क्यास अन डेलिभरी’ सेवा दिन थालेपछि हुलाकलाई पनि आफ्ना सेवाहरु समयानुकूल र छरितो बनाउन दवाव बढ्दै गयो । 

सरकारी पत्रको हकमा भने स्थापनाकालदेखि एकाधिकार कायम राखेको हुलाकले आफ्ना सेवा र सुविधालाई प्रबिधि मैत्री बनाएपछि निजी क्षेत्रको विश्वास समेत जित्न सफल भएको निर्देशक पाण्डेयको दावी छ ।  

उनको भनाईमा, व्यक्तिगत चिठी–पत्र तथा सरकारी कागजातहरु पठाउने विश्वसनीय माध्यम अहिले पनि हुलाक नै हो । 

‘हामी सरकारी निकाय हौं । हामीबाट सेवाग्राहीलाई कुनै जोखिम हुँदैन, पाण्डेय भन्छन्, ‘हामी कहाँ सेवाग्राहीले पठाएको सामग्री कहाँ छ भन्ने पिआइटीएसबाट सेवाग्राहीले समेत हेर्न सकिन्छ ।’

यद्दपि हुलाकका लागि निजी कुरियरहरु प्रतिस्पर्धीका रुपमा स्थापित हुदै जादा चुनौती थपिएको स्वीकार्छन् । 

तर नेपाल कुरियर सेवासंघका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष नवराज भट्ट हुलाकलाई आफ्नो प्रतिस्पर्धी ठान्दैनन् । हुलाकलाई हामीले प्रतिस्पर्धी मान्दैनौं, भन्छन्, सहकार्य गर्ने ठाउँमा सहकार्य गर्छौं । हामीले हुलाकमाथिको सेवाग्राहीको निर्भरता र दवावलाई कम गरेका छौ । 
हुलाकले नविर्सिएको कर्म 

कुनै बेला व्यक्तिगत चिठी पत्र पठाउन हुलाकमा सेवाग्राहीको घुईचो लाग्थ्यो । सूचना प्रविधिको विकाससंगै आममान्छे सामाजिक सञ्जाल प्रयोग गर्न थालेपछि हुलाकबाट व्यक्तिगत चिठी पत्र  पठाउने काम न्यून भयो । बिगतमा सामान्य र रजिष्ट्री गरी दुई किसिमको सुविधा हुलाकले प्रदान गर्दै आएको थियो । सामान्य पत्र एक रुपैयाको टिकट लाग्थ्यो । रजिष्ट्री पत्रमा १० रुपैयाको टिकट टाँसिन्थ्यो । पत्रको गोपनीयता र गम्भीरताका आधारमा सेवाग्राहीहरु रजिष्ट्री पत्रको सुविधा प्रयोग गर्थे । 

तर सूचना प्रविधिको विकासपछि सेवाग्राहीले हुलाकलाई विर्सिए । हुलाकलाई पुराना सेवाग्राहीले विर्सिएपनि सेवा, सुविधामा बिबिधता थपेपछि नयाँ सेवाग्राहीको संख्या थपिएको हुलाक निर्देशनालय कैलालीका हुलाक निर्देशक गोविन्द प्रसाद पाण्डेय बताउछन् । उनी भन्छन्, हुलाकले आफ्नो न धर्म बिर्सिएको छ । न कर्म ।  

हुलाकमा व्यक्तिगत पत्रको संख्या घटेपनि अन्य सुविधा प्रयोगकर्ताको संख्या भने बृद्धि भएको पाण्डेय बताउछन् ।

पाण्डेयका अनुसार हाल हुलाक मार्फत सरकारी कागजपत्र, बैंक तथा वित्तिय संस्था र अदालतका पत्रहरु बढि आउने गर्छन । ‘व्यक्तिगत पत्रले हुलाकको २० प्रतिसत काम घटाएकै हो । तर त्यो भन्दा बढी ३० प्रतिशत काम हुलाकमा थपिएको छ,’ निर्देशक पाण्डेयले भने । 

पहिले चिठीपत्र आदान प्रदान गर्ने हुलाक हाल चिठीपत्र संगै सामान पार्सल, टिकट व्यवस्थापन, सञ्चारगृह तथा सञ्चारकर्मीसंग सम्बन्धित काम पनि गर्ने गर्छ । सरकारले सञ्चारमाध्यम लाई दिने लोककल्याणकारी विज्ञापन वितरणको जिम्मा पनि हुलाकलाई नै दिएको छ । आफ्नो सेवालाई अझ प्रभावकारी बनाउन हुलाकले अहिले पिआइटीएस प्रणाली प्रयोगमा ल्याएको छ । यस प्रणालीले चिठ्ठी पत्र तथा कुरियरहरु कुन ठाउँमा छन् भनेर लोकेशन पत्ता लगाउने काम गर्छ । सेवाहरुलाई प्रविधिमैत्री बनाउन हुलाकले विभिन्न प्रयासहरु गरिरहेको छ । 

हुलाक निर्देशक पाण्डेय पहिलेको तुलनामा कम भए पनि चिठीपत्रको काम नरोकिएको बताउछन ।  हुलाकलाई धेरैले बिर्सिए, उनी भन्छ्न, तर हुलाकले आफ्नो कर्म छोडेको छैन् । 

निजी क्षेत्रको प्रभाव

पछिल्लो समय हुलाक जस्तै निजी क्षेत्रले पनि चिठिपत्र, पार्सल आदान प्रदान गर्दै आएको छ । हुलाक भन्दा छिटो, स्तरीय र भरपुर प्रविधिको प्रयोग गरेर काम गर्ने गरेको निजी क्षेत्रको दावी छ । नेपालमा लामो समयसम्म हुलाक सेवा सरकारकै हातमा थियो । २०५५ सालमा हुलाक ऐन संशोधन भएपछि निजी क्षेत्रले कुरियरको काम गर्ने स्वीकृति पाएका हुन । 

१९९० को दशकमा काठमाडौं उपत्यकामा केही निजी कुरियर कम्पनीहरू सुरु भए । व्यापार–व्यवसाय बढ्दै जाँदा छिटो, सुरक्षित र विश्वसनीय ढुवानीको माग बढ्यो । निजी क्षेत्रले छिटो र विश्वसनीय सेवा दिन थालेपछि परम्परागत हुलाक सेवा पछि प¥यो । निजी क्षेत्रबाट ग्राहकले ट्रयाकिङ, होम डेलिभरी, क्यास–अन–डेलिभरी जस्ता सुविधा पाए ।

सरकारी चिठीमा अझै हुलाकको एकाधिकार रहे पनि निजी कुरियरहरूले आकस्मिक र महत्वपूर्ण कागजपत्र ओसारपसारको काम गरिरहेका छन् । यद्यपी निजी कुरियरले दुई किलोभन्दा कम वजनका सामग्री ओसारपसार गर्न नपाउने प्रावधान छ । तर पनि तिनले चिठी र कागजपत्र बोकिरहेका छन् । यसको प्रत्यक्ष असर हुलाकलाई परेको छ ।

ग्रामीण क्षेत्रमा अझै सरकारी हुलाक प्रमुख भए पनि शहरी क्षेत्रमा निजी कुरियर हावी छन् । यसको कारण निजी कुरियर कम्पनीहरूले छिटो, आधुनिक र ग्राहकमैत्री सेवा दिनु हो । पछिल्लो समय हुलाकले पनि आफ्ना सेवाहरुरलाई बिस्तार गर्दै आधुनिक र ग्राहकमैत्री बनाइ रहेको छ । यसले हुलाकलाई थप प्रभावकारी र जीवन्त बनाएको छ ।  

हुलाक सेवा विभागका सूचना अधिकारी ध्रुवराज आचार्य निजी क्षेत्र र हुलाकबीच प्रतिस्पर्धा रहेको बताउछन । ‘अन्य क्षेत्रमा जस्तै हुलाक सेवामा पनि सरकारी र निजी क्षेत्र बिच प्रतिस्पर्धा छ,’ उनले भने । 

हुलाक र निजी कुरियरको शुल्कमा ठूलो अन्तर छ । हुलाकले सामान्यतया एक पत्रको ४० देखि ७० रुपैंया सम्म लिने गर्छ । पत्रको तौल २० ग्राम भन्दा बढि भएमा प्रत्येक १० ग्राममा पाँच रुपैंयाका दरले शुल्क बृद्धि हुने गरेको छ । तर निजी कुरियरमा शुल्कको कुनै मापदण्ड छैन । कुरियरले सामान्यतया कागजात वा पत्र पठाए वाफत १५० देखि ३०० रुपैया सम्म लिने गर्छन् । 

नेपाल कुरियर सेवासंघका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष नवराज भट्टका अनुसार सुदुरपश्चिममा हाल ८० को हाराहारीमा कुरियर सेवा सञ्चालनमा छन् । 

दुई दशकदेखि धनगढीमा कोर्टियर वल्र्ड वाईड एक्सप्रेस कुरियर सञ्चालन गर्दै आएका भट्ट स्वयम पछिल्लो समय कुरियर सेवामा केही बेथिति बढेको स्वीकार्छन् । उनी सरकारी निकायले बेथिति नियमन गर्नु पर्ने बताउछन् ।