अहिले नै मन्त्रिमण्डल हेरफेर हुने सम्भावना छैन : उपप्रधानमन्त्री सिंह

मंगलबार भदौ १०, २०८२/ Tuesday 08-26-25
Paschim Today

काठमाडौं : उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नै मन्त्रिमण्डल हेरफेर हुने सम्भावना नरहेको बताएका छन्। 

नेपाल महिला संघका संस्थापक मंगलादेवी सिंहको २९ औं स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंको शोभाभगवती रहेको सालिकमा माल्यार्पण गर्दै सिंहले मन्त्रिमण्डल हेरफेरका चर्चा चले पनि अहिले नै कांग्रेसका तर्फबाट मन्त्रीहरू हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका हुन्। 

उनले संख्याका आधारमा समेत अहिलेको सरकार बलियो अवस्थामा रहेकाले पुरै अवधि यही सरकार चल्ने जिकिर गरे। मुलुकमा स्थायित्वका साथै संविधानमा आवश्यकता अनुसार संशोधनका लागि ठूला दुई दल मिलेर सरकार बनाउनु परेको उनले बताए। 

उनले सरकार गठनका समयमा भएको सहमतिलाई समेत कार्यान्वयन क्रमशः कार्यान्वयन गर्दै लैजाने जिकिर गरे। उनले मंगलादेवी लगायतका अग्रजहरूले गरेको त्यागका कारण अहिले महिला अधिकार स्थापित हुँदै गएको बताए।