एएफसी यू-२३ एसियन कप छनोट खेल्न नेपाल तयार

मंगलबार भदौ १७, २०८२/ Tuesday 09-02-25
Paschim Today

काठमाडौं : एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपाली टिम तयार रहेको प्रमुख प्रशिक्षक नवीन न्यौपानेले बताएका छन्। सउदी अरेबीमा २०२६ मा हुने यू-२३ एसियन कपको छनोट खेल खेल्न ताजकिस्तान पुगेको नेपाली टिम बलियो प्रतिस्पर्धीसँग खेल्दै एसियन कपमा स्थान बनाउन चाहन्छ। 

समूह 'के'मा रहेको नेपालले घरेलु टिम ताजकिस्तान, सिरिया र फिलिपिन्ससँग छनोटको खेलहरु खेल्नेछ। नेपालका प्रशिक्षक नवीन न्यौपानेले प्रि म्याच प्रेस कन्फ्रेन्समा बोल्दै नेपाली टिमको तयारी राम्रो भएको बताए। 

२ महिनाको तयारी लिएर ताजकिस्तान पुगेको नेपाली टिम छनोट खेल्नका लागि मात्रै नभएर जित्न आएको प्रशिक्षक न्यौपानेले भने, ‘सम्पूर्ण प्रतिस्पर्धीलाई सम्मान गर्दै पहिलो खेलबाट ३ अंकको लागि खेल्नेछौँ। हामी यहाँ खेल्न मात्रै होइन जित्न आएका हौँ।’उनले बलियो टिमहरूसँग छनोट खेल्न निकै उत्साहित र उत्सुक रहेको बताए। उनले भने, ‘हामी यो छनोट खेल्न निकै उत्साहित छौँ।’ 

नेपालले छनोटको पहिलो खेल भदौ १८ मा घरेलु टिम ताजकिस्तानसँग नेपाली समय अनुसार राती ८:१५ मा खेल्नेछ। भदौ २१ मा नेपालले दोस्रो खेल सिरियासँग नेपाली समयानुसार ५:१५ मा खेल्नेछ। छनोटको अन्तिम खेल नेपालले फिलिपिन्ससँग भदौ २४ मा छः१५ मा खेल्नेछ।

नेपाली टिमः 
गोलकिपरः कृशल मोक्तान, अमित तामाङ, विशाल केसी
रक्षक (डिफेन्डर) : विवेक गुरुङ, विशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सिमन्त थापा
मिडफिल्डरः अभिषेक स्याङ्ताङ, आयुष घलान, एरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिश रत्न छुन्जु, पूजन थापा, सन्जीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ
फवार्डः रोहन खड्गी, निराजन धामी