पैगम्बर मोहम्मदको शिक्षा लिँदै घृणा, अन्याय र विभाजन अन्त्य गर्न प्रदेश प्रमुख मियाँको आग्रह

शुक्रबार भदौ २०, २०८२/ Friday 09-05-25
Paschim Today

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले घृणा, अन्याय र विभाजन अन्त्य गर्न सबैलाई आह्वान गरेका छन्।

पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्मजयन्ती (ईद मिलाद उन नबी)को अवसरमा प्रदेश प्रमुख मियाँले पैगम्बरको शिक्षाले मानव समाजलाई शान्ति, सद्भाव र न्यायका मूल्य–मान्यताप्रति प्रेरित गर्ने बताए। उनले सत्य, न्याय, करुणा र सद्भावको सन्देशलाई अंगाल्नु आजको आवश्यकता रहेको उल्लेख गरे।

‘पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले देखाएको सहिष्णुता र दयाको मार्गले हाम्रो जीवनलाई सकारात्मक रूपमा अगाडि बढाउँछ, समाजमा मेलमिलाप र एकताको भावना विकास गर्छ,’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

उनले पैगम्बर मोहम्मदका उच्च नैतिकता, मानवता र परोपकारका भावनाले सबैलाई समाजमा शान्ति, स्थायित्व र सद्भाव कायम राख्न प्रेरित गर्ने बताए। साथै उनले पैगम्बरले जीवनभर देखाएको विनम्रता, इमानदारी र आदर्श जीवनशैलीलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए।

प्रदेश प्रमुख मियाँले पैगम्बर मोहम्मदको जन्मजयन्तीले सबैलाई आपसी प्रेम, करुणा, भाइचारा र एकताको भावना फैलाउँदै विश्वशान्तिका लागि योगदान गर्ने प्रेरणा दिनुपर्ने भन्दै देश–विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायसहित नेपाली दाजुभाइ दिदीबहिनीप्रति शुभकामना व्यक्त गरेका छन्।