धनगढीमा जेन–जी आन्दोलन : मेडिकल विश्वविद्यालय सञ्चालनदेखि नेताहरू सच्चिन चेतावनी

सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

 कैलाली । देशभर भइरहेको जेन–जी प्रदर्शन सुदूरपश्चिमको राजधानी धनगढीमा पनि तीव्र बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालयदेखि मुख्यमन्त्री कार्यालयसम्म युवाहरूको आन्दोलित भएका छन् ।

जिल्ला प्रशासनमा सरिता जोशी नेतृत्वका प्रदर्शनकारीहरूले सरकार र भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका छन् । उनीहरूले नेताहरू र सरकारप्रति कडा आक्रोश पोखेका छन् । प्रदर्शनमा सहभागी एक युवकले भने ‘बोलेको कुरा कसैले सुन्दैन भने बुझ्नुपर्छ त्यो सरकार हो, देशका ९० प्रतिशत युवाहरू पढ्दै गर्दा बिदेसिनुको कारण भ्रष्टाचार र असक्षम नेतृत्व हो, वृद्ध नेताहरूले देश रित्याइरहेका छन् भने दक्ष र योग्य युवाहरू खाडी पठाइदिएर रेमिटेन्समा भर पर्नु परेको छ, सामाजिक सञ्जाल बन्द गरेर समस्या समाधान हु“दैन, भ्रष्टाचार अन्त्य गरेर मात्र हुन्छ ।’

प्रदर्शनकारीहरूले सरकार जबाफदेही र पारदर्शी बन्नु पर्ने,शासन सुनिश्चित गर्नुपर्ने, भ्रष्टाचार गर्ने सबैलाई कानुनी कारबाहीमा ल्याउनुपर्ने, ‘झोले संस्कृति’ अन्त्य गर्नुपर्ने माग राखेका छन् । यस्तै प्रदेश सरकार खारेज गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन व्यवस्था ल्याउनुपर्ने उनीहरूको माग गरेका छ

युवाहरूको अर्को समूह रोशन जोशीको नेतृत्वमा मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेको छ । उनीहरूले टायर बालेर प्रतिरोध जनाउने तयारी गरे पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । केही समयपछि उनीहरूले साइकलका टायर मुख्यमन्त्री कार्यालय परिसरभित्र फालेका थिए । यस घटनापछि स्थिति केही तनावपूर्ण बनेको थियो । प्रहरीले अझै यस्ता गतिविधि दोहोरिन नदिन सुरक्षा सतर्कता बढाएको छ । जोशी राजावादी सङ्गठन निकट भएको बुझिएको छ ।

जेन(जीहरुलेले विशेष गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल सञ्चालनमा ल्याउन सरकारलाई दबाब दिएका छन् । उनीहरूका अनुसार ३५ वर्षदेखि राजनीतिक दल र नेताहरूको स्वार्थका कारण यो विश्वविद्यालय सञ्चालनमा आउन नसकेको हो
धनगढीमा जारी यो आन्दोलनमा करिब २८ वर्षभन्दा तलका जेन–जी युवाहरूको उल्लेख्य उपस्थिति छ । उनीहरूले सरकार, राजनीतिक दल र नेताहरूलाई तत्काल सच्चिन आह्वान गर्दै भ्रष्टाचारविरुद्धको सङ्घर्षलाई अझ व्यापक बनाउने तयारी गरिरहेको जनाएका छन् । र, सामाजिक सञ्जाल माथिको प्रतिबन्ध तत्काल हटाउन उनीहरूको माग छ ।