प्रधानमन्त्री ओली राजिनामा देउ

मंगलबार भदौ २४, २०८२/ Tuesday 09-09-25
Paschim Today

विशेष सम्पादकीय

जेन जीको प्रदर्शनमाथि बर्बर आक्रमण गरेर सरकार नागरिकको रगतको आहालमा निदाएको छ । यद्यपि देशभित्र र देश बाहिर रहेका नेपालीहरु यी घट्नापछि बैचन छन् । निदाउन सकेका छैनन् । 

कलेज गएको सन्तान फर्केर घर आएन । कहिले कुनै निलडाम नबसेका शरीर गोलीले छेडेको छ । शव गृहमा मृत शरीर छ । उता घरमा बुवाआमा सन्तान फर्किने आसमा छन् । 

आफ्ना कुरा सामाजिक सञ्जाल मार्फत राख्न पाउने अधिकारको सुरक्षाका लागि सडकमा उत्रिएका जेन जीका आवाज सधैका लागि बन्द गर्ने बाटो रोज्यो, सरकारले । त्यसपछि के भयो, जग जाहेर  छ । 

प्रदर्शनकारी युवाको टाउकोमा गोली दागिएको छ । संसद भवनको गेटमा झुण्डिएको टाउकोबाट रगतका धारा बगिरहेका छन् । संगै गएको साथी चिच्याईरहेको छ । घाईते साथी उठाउन गएको युवा गोली लागेर त्यही ढलेको छ ।

प्रहरीको हानेको गोलीले हात छेडेकी एक स्कुले विद्यार्थीलाई मानवीयताका हिसावले अपरिचित एक व्यक्तिले अस्पताल लैजादै गर्दा गोली लागेर ती विद्यार्थी अस्पताल परिसरमै ढलिन् । 

एउटा होईन, शरीरमा तीन वटा गोली दागिए । गोली दाग्ने प्रहरी थिए । तातो गोलीको शिकार हुने किशोरी थिईन । जो कुनै दलको सदस्य होईनन् । 

एउटा जुत्ता बानेश्वरमा रगतले लतपतिएको छ । अलपत्र छ । खुट्टा कहाँ पुगे, थाह छैन् ? सुदूरको बिकट बझाङबाट उच्च शिक्षाका लागि काठमाण्डौं पुगेका युवा बानेश्वरमा गोली लागेर ढले । त्यसपछि उनी उठेनन् । त्यो खवरले गाउँमा बुवाआमा ढले । 

काठमाण्डौंका अस्पताल घाईते र मृतकले भरिएका छन् । यस्तो लाग्छ, अस्पताल कुरु क्षेत्र हो । जहाँ चिच्याहट छ । गोलीले छातिमा पारेको प्वाल हातले टालेर घाईते अस्पताल पुगेको छ । रगतको आहालमा परिणत भएका छन्, उपचार कक्षहरु ।

विहान संगै कलेज गएको साथी लाश गृहमा मौन छ । बौल्दैन । उठ्दैन । घर फर्किदैन् । 

ओहो ! कस्तो हृदय विदारक दृष्यहरु । हेर्दा त के सुन्दा पनि मन अशान्त हुन्छ । सायदै कोही नेपाली होला, यी घट्नापछि निदाउन सकेको ? यी दृष्यहरु देख्दा आङ जिरिङ भएन र आँखाबाट आँशु झरेन भने त्यो मान्छे होईन । ईराकमा नौ जना नेपालीको घाटी आईएसआईले रेटेका थिए, यहाँ त आफ्नै अभिभावक, प्रधानमन्त्री ओलीको निर्देशनमा घाटी छेडिएको छ, गोलीले । 

प्रधानमन्त्री केपी शर्मा ओली कति संवदेनाहीन छन्, दुई अघि मन्त्रीको गाडीले ठक्कर दिएर घाईते भएकी बालिकालाई कस्तो छ, सोध्दैनन् । मन्त्रीको बचाउमा बोल्छन्, । र, भन्छन्, यो घट्नालाई राजनीतिकरण नगरौ ।

उनलाई लाग्दो हो, मैले गरेको सबै ठिक छ । मैले बोलेको सबै ठिक छ । सिंह दरवारको छेउमै छ, बानेश्वर । त्यही छ, संसद भवन । त्यहाँको अवस्था ठिक छैन, उनी थाह नपाए झै गर्छन् । 

बानेश्वरको चिच्याहट उनले सुन्दैनन् । उनी हृदयहीन छन् । उनी भन्नलाई देशकै अभिभावक हुन्, तर उनको व्यवहार जल्लादभन्दा कम छैन् । 

देशको प्रहरी गृहमन्त्री रमेश लेखकको मातहतमा छ । गृहमन्त्री ओलीको मातहतमा । प्रहरीको समूह चक्रव्यूहमा फसेका अभिमन्युको रगतमा होली खेल्न उद्दत छ । मानौ, प्रहरी यो देशकै होईन । आफ्नै भाईछोरा र छोरीहरुलाई उ निदर्यतापूर्वक बध गरिरहेको छ ।

ती रगतले लतपतिएका हात प्रहरीका होईनन्, गृहमन्त्री र प्रधानमन्त्रीका हुन् । मृतकलाई शहीद र परिवारलाई क्षतिपूर्ति दिएर त्यसको भर्पाई हुन सक्दैन् । गृहमन्त्री लेखक र प्रधानमन्त्री ओली जीवित रहेसम्म त बानेश्वरको घट्नाले छोड्ने छैन् । मृत्युपछि कलंकित ईतिहास छोडेर जानेछन् । 

जेन –जी पुस्ताको माग ठूलो थिएन । सामाजिक सञ्जालका प्लेटफर्ममाथि लगाएको बन्देज हटाउने । र अर्को, ओली स्वयमले भन्ने गरेको, भ्रष्टाचारमा शुन्यसहनशीलता । उनीहरुले प्रधानमन्त्रीको कुर्ची खोजेका थिएनन् । बानेश्वर, ईटहरी र देशभरी हिजो जे भयो, त्यो सबै प्रधानमन्त्री ओलीको दम्भले भएको हो ।

आन्दोलनमा घुसपैठ भयो, प्रतिपक्षले आन्दोलनलाई हिंसात्मक बनाए भन्ने आरोप लगाएर सरकार यो अक्षम्य अपराधबाट मुक्त हुन पाउदैन् । 

यो सबै क्षतिको जिम्मेवार प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र प्रहरी प्रमुख हुन् । र, यो सरकार त्यसको जवाफदेही पक्ष हो ।

सोमवार देशभरी भएका घट्ना, ती घट्नामा भएका मानवीय क्षतिका लागि नेपाली काँग्रेस र नेकपा एमाले सहित सत्तारुढ दलहरु जिम्मेवार छन् । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको मौन सम्मती पनि यसको प्रमुख कारक हो । त्यस कारण देउवा पनि उत्तिकै जिम्मेवार छन् ।

दुई बलिया पार्टी मिल्दा सरकार बलियो होईन, स्वेच्छाचारी र मैमत्त हुदो रहेछ । नागरिकका मौलिक हक र अधिकारहरु कुण्ठित हुदा रहेछन् । भन्नलाई त यो गठबन्धन संविधान संशोधन र स्थायी सरकारका लागि भनियो । तर उनीहरुको नियत र उद्देश्य भने फरक रहेछ । यो घट्नाले त्यही कुराको पुष्टि गर्छ । बलियो प्रतिपक्ष नहुदा जनताका आवाज कति कमजोर हुदा रहेछन्, यो घट्नाले त्यो पनि स्मरण गराएको छ ।

काँग्रेस र एमालेको दुई तिहाईको बलियो सरकार त नागरिक मार्नलाई रहेछ । जनताका लागि यति बलियो भएको सरकार लिपुपेक र कालापानीमा भएको भए हुन्थ्यो । 

निहत्था नागरिकको रगतले लतपतिएको प्रधानमन्त्रीको कुर्सीमा एक सेकेण्ड पनि बस्ने नैतिक अधिकार  ओलीलाई छैन् । यो सरकार नेपाली जनताको सरकार रहेन । शक्तिले मैमत्त प्रधानमन्त्री, मन्त्री र सुरक्षा प्रमुखहरुले तत्काल पदबाट राजिनामा दिनुको बिकल्प छैन् । गृहमन्त्री वा प्रधानमन्त्रीले राजिनामा दिएर पनि उन्मुक्ति पाउनु हुदैनन् । सरकारमा बस्नेहरु सजायका भागीदार हुन् । यो घट्नाका जिम्मेवार, जो कोहीले सजाय पाउनै पर्छ । भोलिका दिनमा कम्तिमा यस्ता घट्नाहरु नघटुन ।