कञ्चनपुर कारागारमा २४ कैदीबन्दी फर्किए

कञ्चनपुर । कारागार कार्यालय कञ्चनपुरमा २४ कैदीबन्दी फर्किएका छन् । मङ्गलबार आन्दोलनकारीहरूले कारागारको ताला तोडेर कैदी बाहिर निकाले पनि २४ कैदीबन्दी भने कारागारमा फिर्ता आएको कारागार प्रशासनले जनाएको हो ।
कारागार कार्यालय कञ्चनपुरका निमित्त जेलर रामदत्त जोशीका अनुसार चार सय ५३ पुरुष र २६ महिला गरी ४७९ कैदीबन्दी रहेका कारागारमा अहिले २४ कैदीबन्दी मात्र रहेका छन् । मङ्गलबार साँझ प्रर्दशनकारीहरूले कारागारमा लगाएका सबै ताला तोडेर कैदीहरूलाई बाहिर निकालेपछि २४ कैदीहरू बुधवार दिउँसोसम्म फिर्ता आएका उनले बताए ।
यसैगरी, मङ्गलबार साँझ झण्डै एक हजार जनाको सङ्ख्यामा आएको आन्दोलनकारीहरूको समूहले कारागारमा रहेका पाँच जना कैदीमाथि कुटपिट गरेको निमित्त जेलर रामदत्त जोशीले बताए । कैदीबन्दीहरूलाई जबरजस्ती बाहिर निकालिरहेको उक्त समूहले बाहिर निस्कन नमानेको भन्दै कैदी प्रेम सुनार सहित पाँच जना कैदीहरूलाई रडले प्रहार गरेर कुटपिट गरेको उनले बताए।
सुनारको पिठ्युँमा चोट रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया