संसद् भवनभित्र ३२ जना मृत फेला भन्ने खबर असत्य हाे : प्रहरी

काठमाण्डाै – 'जेन जी' आन्दोलनलाई जोडेर ‘बेपत्ता भएका ३२ जना संसद् भवनभित्र मृत फेला’ भन्ने खबर असत्य भएको प्रहरीले जनाएको छ ।
भ्रामक प्रचार भएको भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्वीरलाई प्रयोग गरी सामाजिक सञ्जालमा भ्रम फैलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
प्रहरीले यस्तो विषम परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक समाचार सिर्जना गरेर स्थितिलाई थप भड्काउने कार्य नगर्न सबैलाई अनुरोध गरेको छ ।
यसैबीच 'जेन जी' आन्दोलनकारीको आगजनीमा परेकी नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार उपचाररत रहनुभएको पार्टीले जनाएको छ । उहाँको पनि जलेर ज्यान गएको हल्ला चलेको थियो । आन्दोलनकारीले डल्लुमा रहेको खनालको घरमा आगो लगाउँदा जलेकी चित्रकारको अवस्था खतरामुक्त रहेको पनि पार्टीले जनाएको छ ।
तपाईको प्रतिक्रिया