न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलर क्षतिपूर्ति मागसहित मुद्दा दायर गर्दै ट्रम्प

मंगलबार भदौ ३१, २०८२/ Tuesday 09-16-25
Paschim Today

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द न्युयोर्क टाइम्सले मानहानी गरेको भन्दै १५ अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा हाल्ने तयारी गरेका छन् ।  अमेरिकी अखबारले केहीदिन अघि एपस्टाइन स्क्यान्डलबारे रिपोर्ट सार्वजनिक गरेपछि राष्ट्रपति ट्रम्पले मुद्दा हाल्न लागेको रोयटर्सले जनाएको छ । 

गत हप्ता मात्रै ट्रम्पले एपस्टाइनसँग सम्बन्धित रिपोर्टमा न्युयोर्क टाइम्सलाई मुद्दा हाल्ने धम्की दिएका थिए । 'आज म न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा दायर गर्दैछु,' ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भनेका छन्, 'न्युयोर्क टाइम्सलाई धेरै लामो समयदेखि स्वतन्त्र रूपमा झूट बोल्ने, कलंक लगाउने र मलाई बदनाम गर्न दिइएको अनुमति अब रोकिन्छ ।'

ट्रम्पले उक्त पत्रिकामाथि आफू, आफ्नो परिवार र व्यवसायबारे झूटो लेखेको, साथै अमेरिका फर्स्ट मूभमेन्ट र मेक अमेरिका ग्रेट अगेनजस्ता रिपब्लिकन नेतृत्वका आन्दोलन र विचारधारालाई समेत बदनाम गरेको आरोप लगाएका छन् । मुद्दा फ्लोरिडामा दायर गरिने ट्रम्पले जानकारी दिए । 

यसअघि ट्रम्पले वाल स्ट्रिट जर्नल, उक्त कम्पनीका मालिक रुपर्ट मर्डोक र दुई पत्रकार खादिजा सफदर र जोसेफ पलाजोलोविरुद्ध मुद्दा दायर गरेका थिए । साथै, उनले १० अर्ब डलर क्षतिपूर्ति माग गरेका छन् । ट्रम्पले पत्रकारहरूलाई "राष्ट्रपति ट्रम्पले २००३ मा जेफ्री एपस्टाइनलाई उनको ५०औं जन्मदिनमा पत्र लेखेको र हस्ताक्षर गरेको तथ्यलाई बनावटी बनाएको" आरोप लगाएका छन् । यद्यपि, ट्रम्पले त्यस्तो कुनै पनि कुरालाई अस्वीकार गरेका छन् ।