कञ्चनपुर कारागारबाट अझै १९३ कैदीबन्दी फरार

बुधबार असोज १, २०८२/ Wednesday 09-17-25
Paschim Today

कञ्चनपुर । कञ्चनपुर कारागारबाट १८ भारतीय कैदी बन्दीसहित अझै १९३ कैदीबन्दी फरार रहेका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट निस्किएका साढे चार सय कैदी बन्दी मध्ये अझै १९३ कैदी बन्दी भने फरार रहेका छन् । 

यसैगरी, बुधबार दिउँसो सम्म २७५ कैदीबन्दी इमानदारिता पूर्वक कारागारमा आफैँ फिर्ता भएका कञ्चनपुर कारागारका निमित्त जेलर रामदत्त जोशीले बताए । उनका अनुसार २४ जना कैदीलाई प्रहरीको टोलीले जिल्लाका विभिन्न क्षेत्रबाट पक्राउ गरेर ल्याएको हो । 

कञ्चनपुर कारागारमा ४७९ कैदीबन्दी रहेका थिए । जसमध्ये बुधवारसम्म पाँच कैदी कैद भुक्तान गरेर घर फर्किएका छन् । आन्दोलनका कारण कारागारबाट निस्केका पाँच कैदीहरू कारागार फर्किएर कैद भुक्तान गरी घर गएका निमित्त जेलर जोशीले बताए । 

कारागारबाट निस्किएका भारतीय कैदीहरू भने सम्पर्क बाहिर रहेको कारागार प्रशासनले जनाएको छ । कारागारको सम्पर्कमा रहेका १० भारतीय कैदीबन्दीहरू कारागार फिर्ता भएका छन् भने १८ भारतीय कैदी बन्दी अझै फरार रहेको निमित्त जेलर जोशीले बताए । फरार रहेका भारतीय कैदी बन्दी मध्ये कर्तव्य ज्यान, जबरजस्ती करणी र चोरी मुद्दाका रहेका छन् । 

यसैगरी कञ्चनपुर कारागारमा २६ महिला कैदीबन्दी रहेकोमा १४ जना फर्किएका छन् भने १२ महिला कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ । फरार रहेका कैदी बन्दीहरूलाई फिर्ता बोलाउने कार्य भइरहेको निमित्त जेलर जोशीले बताए ।