सांसदको तलब भत्तामै सकियो पौने तीन अर्ब

काठमाडौं ३ असोज । संघीय संसद् सञ्चालनको ३३ महिनामा सांसद र पदाधिकारीको तलब–भत्ताका साथै भाडासमेत गरी तीन अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । यसमा संसद् सचिवालयको नियमित प्रशासनिक खर्च जोडिएको छैन ।
संसद् सचिवालयको तथ्यांकअनुसार ०७९ पुसदेखि ०८२ भदौसम्म पदाधिकारी, सदस्य र उनीहरूको सचिवालय व्यवस्थापनका साथै भाडामा गरी कुल तीन अर्ब २१ करोड ८६ लाखभन्दा बढी खर्च भएको हो । संसद् सचिवालयको तथ्यांक र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा उल्लेखित सुविधालाई आधार मानेर निकालिएको हिसाबअनुसार उक्त रकम खर्च भएको पाइएको हो ।
सचिवालयको लेखा शाखाका अनुसार ०८२ असार मसान्तसम्म तलब–भत्तामा एक अर्ब १० करोडभन्दा बढी खर्च भएको छ । भदौ मसान्तसम्मको जोड्दा यो रकम करिब एक अर्ब १३ करोड पुग्छ । उनीहरूको स्वकीय सचिवालयतर्फ एक अर्ब ६३ करोड ८६ लाख खर्च भएको छ ।
यसैगरी, संसद् सचिवालयले संसद् भवन सञ्चालनबापत नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक १५ करोड भाडा तिर्दै आएको छ । पछिल्लो तीन वर्षको हिसाब गर्दा सचिवालयले ४५ करोड भाडा बुझाइसकेको छ । यी सबै हिसाब जोड्दा तीन अर्ब २१ करोड ८६ लाख सात हजार ६१९ हुन आउँछ ।
सचिवालयकी सूचना अधिकारी सावित्रा शर्माका अनुसार प्रतिनिधिसभा विघटन भएकाले अहिले सभामुख र उपसभामुखबाहेक अन्य सांसदले सुविधा पाउनेछैनन् । तर, राष्ट्रिय सभा कायम भएकाले त्यहाँका पदाधिकारी र सदस्यले भने नियमित पारिश्रमिक र सुविधा पाउँछन् । संसद् भवन बनाइएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाइएकाले अब त्यसलाई थप भाडा बुझाउनुपर्नेछैन ।
तपाईको प्रतिक्रिया