संविधान दिवसका अवसरमा नेपाल टेलिकमको अफर

शुक्रबार असोज ३, २०८२/ Friday 09-19-25
Paschim Today

काठमाडौँ - सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले संविधान दिवसका अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । असोज २ देखि असोज ४ गतेसम्म लागू हुने अफरअन्तर्गत ग्राहकले विभिन्न डेटा तथा भ्वाइस प्याकेजमा छुट पाउनेछन् ।

नेपाल टेलिकमले दिएको जानकारी अनुसार ४९ रुपैयाँमा १ दिनभर चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमको नेटवर्कभित्र १०० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ ।

यस्तै, १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डेटा, १९९ रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न मिल्ने १३ जीबी डेटा र २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डेटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डेटा प्याकेज लिन सकिनेछ । साथै, ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने भनिएको छ ।

अफरमा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि समेत सुविधा उपलब्ध गराइएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको छ । यो प्याकेजअन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुने उल्लेख छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले फेस्टिभ कम्बो प्याकेज वा ३० जीबी डाटा प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा समेत उपलब्ध छ ।

यसका लागि ग्राहकहरूले *1415*11# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत यी अफर खरिद गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।