पश्चिम सेती जलविद्युत् परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गरिँदै

शुक्रबार असोज ३, २०८२/ Friday 09-19-25
Paschim Today

डडेल्धुरा। चार दशकदेखि सपना देखाइरहेको पश्चिम सेती जलविद्युत्  परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरिँदै छ। ८०० मेगावाट क्षमताको परिश्चम सेती परियोजनाको प्रभावित क्षेत्रका स्थानीयहरुलाई इआइएका लागि सूचना दिन आग्रहसमेत गरिएका्े छ । 

भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडको परशामर्शदाता रहेको जेड कन्सल्ट प्रालीले इआइएका लागी प्रभावित क्षेत्रका स्थानीयहरुलाई सूचना उपलब्ध गराउन आग्रह गरेको हो । इआइए अध्ययन गर्नेक्रममा सामाजिक प्रभावसम्बन्धी सर्वेक्षण कार्य (घर जग्गाको विवरण सङ्कलन कार्यसहित ) गत भदौ २२ गतेदेखि प्रारम्भ गरिएको जेड कन्सल्टका सुपरिवेक्षक दिनेशचन्द्र जोशीले जानकारी दिए । 

यस परियोजना अन्तर्गत आयोजना क्षेत्रभित्र पर्ने प्रभावित हुनसक्ने घर तथा जग्गा धनीलाई घर, जग्गा धनी पूर्जासहित जानकारी गराउन सूचना आह्वान गरिएको उनले बताए । उनका अनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा ४ र ५ प्रभवित क्षेत्र हो । यसैगरी बैतडीको सिगास गाउँपालिका वडा ५, ६ र ७, डोटीको आदर्श गाउँपालिका वडा ३, ५, ६, सायल गाउँपालिकाको वडा १ रहेका छन्। यस्तै बझाङको केदारस्यु गाउँपालिका वडा नं. १, २ र बित्थडचिर गाउँपालिकाको वडा ९ प्रभावित क्षेत्र हो । 

चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको आयोजना सरकारले २०७८ चैतबाटै एनएचपीसीलाई दिन गृहकार्य गरिरहेको थियो । अष्ट्रेलियन कम्पनी स्मेक र चिनियाँ कम्पनी थ्री गर्जेजेले समेत बनाउन नसकेको आयोजना भारतीय सरकारी कम्पनीले बनाउने आधार देखिएकाले यस्तो निर्णय भएको बोर्डले जनाएको थियो ।

चिनियाँ कम्पनी थ्री गर्जेजले १३ भदौ २०७५ मा भएको अन्तिम वार्तामा क्षमता घटाएर पनि पश्चिम सेती आयोजना बनाउन अस्वीकार गरेको थियो । बोर्डले परियोजनाको क्षमता ७५० बाट घटाएर ६२० मेगावाटमा झार्ने र अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने प्रस्ताव गरेको थियो । तर, बाँधस्थल प्रस्तावित स्थानको भूगर्भ, उचाइ र प्रभावितको पुनःस्थापना लगायतको कारण देखाएर थ्री गर्जेज पश्चिम सेतीबाट बाहिरिएको थियो । पुनर्बास लगायतका धेरै विषयका कारण परियोजना वित्तीय रुपमा सम्भाव्य नरहेको उसले बताएको थियो ।

२५ वर्षअघि अष्ट्रेलियाको स्मेक कम्पनीले पनि पश्चिम सेती निर्माणको जिम्मा लिएको थियो । तर, १७ वर्षसम्म १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि काम अगाडि नबढेपछि सरकारले इजाजत रद्द गरेको थियो । त्यसपछि सन् २०१२ मा यो आयोजना थ्री गर्जेजलाई हात परेको थियो ।

तर, थ्री गर्जेजले पनि काम अगाडि नबढाएपछि लगानी बोर्डले पश्चिम सेतीलाई कसरी सम्भाव्य बनाउने भन्नेबारे अध्ययन गरेको थियो । जसले एसआर–६ परियोजना पनि दिने हो पश्चिम सेती बन्ने निष्कर्ष निकालेको थियो । 

पश्चिम सेतीभन्दा केही कम क्षमता अर्थात् ४५० मेगावाटका जलाशययुक्त आयोजना हो । पश्चिमसेतीमा बुढीगङ्गा मिसिने स्थानभन्दा केही तल एसआर–६ आयोजना बनाउन प्रस्ताव गरिएको छ । यो परियोजना डोटी र अछाम जिल्लामा पर्छ । दिपायल–गौगुडा ग्रामीणमार्ग परियोजना पहुँचमार्गको नजिक पर्छ ।

जापानी सहयोग नियोग (जाइका) ले गरेको अध्ययनअनुसार यो परियोजना ६५२ मेगावाटसम्म बन्न सक्छ । यसका लागि २०७ मिटर अग्लो बाँध बाँध्नुपर्छ । यसको क्षमता आधा घटाउने हो भने २२८ मेगावाट बिजुली उत्पादन हुनसक्छ ।

साथै पश्चिम सेती र एसआर ६ परियोजना एकै विकासकर्ताले बनाउँदा पानी थुन्ने, विद्युत् निकाल्ने र पानी छाड्ने समयको व्यवस्थापन गर्दा ४५० मेगावाटमा र पश्चिम सेतीलाई ७५० मेगावाटमै बनाउन सकिने बोर्डको दाबी छ ।

एसआर–६ मा १.५ मिटर हेडरेस सुरुङमार्ग बनाएर बिजुली उत्पादन गर्न सकिन्छ । खुलास्थानमा पावरहाउस बनाउन सकिने लगानी लगानी बोर्डले जनाएको छ ।