मन्त्रीहरुको सपथ आज, विवादित डा संगीता मिश्राको सपथ 'होल्ड'!

सोमबार असोज ६, २०८२/ Monday 09-22-25
Paschim Today

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आइतबार आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दै ५ जना नयाँ मन्त्रीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छिन्। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरिएकी डा. संगीता कौशल मिश्राको नियुक्ति भने तत्कालका लागि होल्ड भएको छ।

अन्तरिम सरकारका एक मन्त्रीका अनुसार  डा मिश्राको नियुक्ति होल्डमा राखेर अन्य सिफारिस भएका मन्त्रीहरूलाई आजै (सोमबार) दिउसो २ बजे शपथ ग्रहण गराउने तयारी भइरहेको छ। 

 

प्रधानमन्त्री सुशीला कार्कीले कसलाई के मन्त्रालयमा सिफारिस गरेकी छिन्?
•    अनिलकुमार सिन्हा : उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण
•    महावीर पुन : शिक्षा तथा विज्ञान प्रविधि
•    मदनप्रसाद परियार : कृषि तथा पशुपन्छी विकास
•    जगदीश खरेल : सूचना तथा सञ्चार
•    डा संगीता मिश्रा : स्वास्थ्य तथा जनसंख्या

स्वास्थ्य मन्त्रीको नियुक्ति किन होल्ड भयो?
स्वास्थ्य मन्त्रालयको पूर्व अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई यसअघि नै प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रीमा सिफारिस गरेकी थिइन् । जेन-जी आन्दोलनपछि मात्रै सरकारी सेवामा फर्किएकी उनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी थिइन्। उनको नियुक्ति किन होल्डमा राखिएको भन्नेबारे भने कुनै आधिकारिक जानकारी दिइएको छैन।

तर ६ महिनाभन्दा लमो समयसम्म स्वास्थ्य मन्त्रालयमा हाजिर नभएकी, स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा म्यामोग्राम मेसिन नै नआउँदै बक्सा मात्र हस्तान्तरण गरेको देखाउँदै रकम भुक्तानी गरेको विषय अख्तियारले हेरिरहेको साथै खरिदका अन्य फाइल पनि अख्तियारमा परेको, ११ औं तहमा नियुक्तिको समयमा कागजपत्र 'किर्ते' गरेको विवाद लगायतका विषय बाहिर आएपछि नियुक्ति र सपथको विषय होल्डमा राखिएको बताइएको छ।

'उहाँले स्वास्थ्य मन्त्रालयलाई धोका दिएको र खरिद लगायतका विवादको विषय बाहिर आएपछि थप छलफल गर्ने भन्दै होल्डमा राखिएको हो,' प्रधानमन्त्री कार्की निकट स्रोतले भन्यो।